पश्चिम र मध्य अफ्रिकी क्षेत्रका १६ वटा देशमा बाढीबाट १४ सय जनाको ज्यान गयो

पश्चिम र मध्य अफ्रिकी क्षेत्रका १६ वटा देशमा बाढीबाट एक हप्तामा मात्रै १४ सय जना भन्दा धेरैको ज्यान गएको छ । ६६ लाख जना मानिसहरु प्रभावित भएका छन् ।

संयुक्त राष्ट्र सङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले सबैभन्दा धेरै चाडमा १९ लाख, नाइजरमा १३ लाख, नाइजेरियामा १२ लाख र कङ्गोमा ११ लाख जना मानिस नराम्रोसँग प्रभावित भएको बताएको छ । यी देशमा गएको हप्तामा मात्रै बाढी र पहिरोमा परेर १४ सय जना मानिसको ज्यान गएको छ ।  नाै  लाख  ८० हजार जना विस्थापित भएका छन् ।

सयौँ विद्यालय र स्वास्थ्य संस्था क्षतिग्रस्त वा नष्ट भएपछि आधारभूत सामाजिक सेवाहरूमा मानिसहरूको पहुँच गुमेको छ । ओसीएचएका अनुसार सात लाख हेक्टर खेतीयोग्य जमिनमा क्षति भएको छ भने एक लाख २० हजार वटा गाईवस्तु मरेका छन् ।  यसले गर्दा खाद्य सुरक्षा र पोषण सङ्कटलाई अझ बढाएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घका कार्यवाहक आपतकालीन राहत संयोजक जोइस मसुयाले यस वर्ष केन्द्रीय आपतकालीन प्रतिक्रिया कोषबाट चाड, कङ्गो, नाइजर र नाइजेरियामा सहयोग गर्न ३५ मिलियन अमेरिकी डलर विनियोजन भएको बताएका छन् । तर मानवीय अवस्थाको गिरावट रोक्नको लागि थप रकम आवश्यक रहेको ओसीएचएले बताएको छ ।

एजेन्सी

Comments

Back to top