इजरायलले लेबनानमा शान्ति सैनिकमाथि गरेको आक्रमणको ४० वटा देशद्वारा निन्दा

संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनामा योगदान गर्ने ४० वटा देशहरूले  इजरायलले लेबनानमा शान्ति सैनिकमाथि गरेको आक्रमणको निन्दा गरेका छन् । इजरायलले लेबनानमा खटिएका शान्ति सैनिकमाथि गोली चलाउँदा पाँच जना घाइते भएका छन् । इजरायली आक्रमणको संयुक्त राष्ट्रसङ्घले गरेको कडा निन्दालाई ४० वटा देशले पनि समर्थन गरेका छन् ।

पोल्याण्डको संयुक्त राष्ट्रसङ्घीय मिसनले यस्ता कार्यहरू तुरुन्तै रोक्न र पर्याप्त अनुसन्धान गर्न माग गरेका छन् । इन्डोनेसिया, इटाली र भारत लगायतका राष्ट्रहरूले पनि संयुक्त वक्तव्यमा निकालेर शान्ति सैनिकमाथि इजरायली हमलाको विरोध गरेका छन् ।

शान्ति सैनिकमा योगदान गरेका नेपाल, घाना, मलेसिया, स्पेन, फ्रान्स र चीनले पनि इजरायलले अन्तर्राष्ट्रिय कानुन र मुल्य मान्यता तोडेको भन्दै निन्दा गरेका छन् । इजरायलले दक्षिणी लेबनानमा हिजबुल्लाहविरुद्धको लडाइका क्रममा कम्तीमा पाँच जना शान्ति सैनिक घाइते भएका छन् । संयुक्त राष्ट्रसङ्घको शान्ति मिसन युनिफिलले इजरायली सेनाले जानबुझ गरेर गोली चलाएको आरोप लगाएको छ ।

सन् २००६ मा इजरायल र हिजबुल्लाहबीच ३३ दिनसम्म चलेको युद्धको अन्त्य भएपछि युद्धविरामको अनुगमन गर्ने जिम्मेवारी युनिफिलको छ । जसमा लेबनानी सेना र संयुक्त राष्ट्र शान्ति सेनालाई मात्र दक्षिण लेबनानमा तैनाथ गर्नु पर्ने उल्लेख रहेकोमा अहिले इजरायलले पनि लेबनानमा सैन्य हस्तक्षेप गरेको छ । 

एजेन्सी

Comments

Back to top