इयूका विदेशमन्त्रीहरूको बैठक ब्रसेल्समा, लेबनानबारे छलफल हुने

इजरायलले लेबनानमा हवाई आक्रमण जारी राखेका बेला युरोपेली विदेशमन्त्रीहरू लेबनानको अवस्थाबारे सोमबार आपतकालीन वार्ता गर्ने ब्रसेल्सले जनाएको छ ।

इजरायली आक्रमणमा हिजबुल्लाहका नेता हसन नसरल्लाहको मृत्यु भएको थियो ।

लेबनानको विदेश नीति प्रमुख जोसेप बोरेलले लेबनानको पछिल्लो तनावप्रति इयूको प्रतिक्रियाबारे छलफल गर्न स्थानीय समयअनुसार दिउसो ३ः०० बजे भर्चुअल बैठक बोलाइएको इयूका एक प्रवक्ताले बताएका छन् ।

इजरायल र इरान समर्थित हिजबुल्लाह समूहबीचको द्वन्द्वलाई थप व्यापक बन्न नदिन अन्तर्राष्ट्रिय शक्तिहरू दौडधुप गरिरहेका छन् ।
विगत एक वर्षदेखि यस क्षेत्रमा व्याप्त हिंसा नियन्त्रणका लागि अहिलेसम्म एउटै स्वरमा बोल्न वा धेरै प्रभाव पार्न २७ सदस्यीय युरोपियन युनियन (इयू) ले सङ्घर्ष गरिरहेको छ ।

गत वर्ष गाजामा युद्ध सुरु भएयता इजरायलले लेबनानको राजधानी बेरुतको मध्यभागमा सोमबार पहिलो हवाई आक्रमण गरेको थियो जसमा चार जनाको मृत्यु भएको थियो।

लामो समयदेखि हिजबुल्लाह समूहका प्रमुख रहेका नसरल्लाहको इजरायलले शुक्रबार गरेका हवाई आक्रमणमा मृत्यु भएको थियो ।

लेबनानमा सन् १९७५ देखि १९९० सम्म चलेको गृहयुद्धपछिको सबैभन्दा घातक दिन गत सोमबारदेखि इजरायली आक्रमणमा सयौंको मृत्यु भएको छ ।

पछिल्लो एक हप्तामा इजरायली बमबारीमा १४ जना प्यारामेडिक्ससहित ७०० भन्दा बढीको मृत्यु भएको लेबनानी मन्त्रालयले जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घका शरणार्थी प्रमुख फिलिप्पो ग्रान्डीले लेबनानमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएको र एक लाखभन्दा बढी छिमेकी मुलुक सिरियातर्फ भागेको बताएका छन् ।

गत वर्ष अक्टोबर ७ मा हमासले गरेको आक्रमणपछि बदलामा गाजामा इजरायलले गरेको विनाशकारी आक्रमणको करिब एक वर्षपछि अहिले हिजबुल्लाहलक्षित आक्रमण भइरहेको छ ।

हमासको निकट सहयोगी हिजबुल्लाहले हमासको आक्रमणपछि उत्तरी इजरायलमा आक्रमण तीव्र पारेको छ, जसका कारण दशौं हजार इजरायली विस्थापित भएका छन्।

रासस

Comments

Back to top