राजमार्गको अवस्था हेरेर सार्वजनिक यातायात सञ्चालन गर्न महासङ्घको आग्रह

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले राजमार्गको अवस्था हेरेर सार्वजनिक यातायात सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरेको छ । महासङ्घका महासचिव डेकनाथ गौतमले विज्ञप्ति निकालेर वर्षाका कारण सार्वजनिक यातायातमा ठूलो क्षति भएको भन्दै थप क्षति हुन नदिन बाटोको अवस्था बुझेर मात्र यातायात सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरेका हुन् ।

वर्षा रोकिए पनि राजमार्गमा सुक्खा पहिरोको जोखिम अझै कायम रहेकोले गन्तव्यसम्म पुग्ने बाटोको अवस्थाबारे जानकारी लिएर मात्र गाडी चलाउन महासङ्घको आग्रह छ । महासङ्घले बाढीपहिरोका कारण देशका अधिकांश राजमार्गमा क्षति पुगेकाले चाँडो मर्मतसम्भार गरेर यातायात सञ्चालन गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ।

दशैँका लागि अग्रिम टिकट बुकिङ खुला भइसकेकाले राजमार्गलाई पूर्ण रूपमा मर्मतसम्भार गर्न र यातायात सेवालाई पूर्ववत् अवस्थामा सञ्चालन गर्ने वातावरण निर्माणमा लाग्न सरकारसँग महासङ्घले माग गरेको छ । 

एजेन्सी

Comments

Back to top