मनकमना केबलकार‘डिजिटल’ प्रविधिमा आजदेखि सञ्चालनमा आउने

मनकमना दर्शन प्रालिद्वारा सञ्चालित नेपालको पहिलो ‘केबलकार’ आजदेखि पुनः ‘डिजिटल’ प्रविधिमा सञ्चालनमा आउने भएको छ ।

गत असार ३१ गतेदेखि स्तरोन्नति र मुख्य तारको लट्ठासमेत फेर्नका लागि केबलकार सेवा बन्द गरिएको थियो ।

विगत २६ वर्षदेखि ‘एनालग’ प्रविधिका माध्यमबाट सञ्चालन हुँदै आएको मनकामना केबलकार ‘डिजिटल’ प्रविधिमा रुपान्तरण गर्ने कार्य सम्पन्न भएको मनकामना दर्शन प्रा.लि.का नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।

अष्ट्रियाको डोप्पलमेयर कम्पनीका इन्जिनियर तथा प्राविधिकको सुपरिवेक्षणमा डिजिटल प्रविधिमा रुपान्तरण गर्ने काम सम्पन्न भएको नायब महाप्रबन्धक शेरचनले बताए ।

गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि विसं २०५५ मङ्सिर ८ गतेदेखि केबलकार सञ्चालनमा ल्याइएको हो । यस केबलकारको ‘बटम स्टेसन’ प्रवेशद्वार चितवनको इच्छाकामना गाउँपालिका–४ चेरेसमा छ ।

एजेन्सी

Comments

Back to top