तुलसीमेहर श्रेष्ठ - जाे नेपालका महात्मा गान्धीकाे रूपमा चिनिन्छन्

तुलसीमेहर श्रेष्ठ नेपालमा सामाजिक सेवाको बलिया खम्बा थिए। साथै उनी नेपालका एउटा चमत्कारी व्यक्तित्व पनि थिए। उनको योगदान महात्मा गान्धीको व्यक्तित्वमा टड्कारै जोडिएको थियो। 

त्यही सीप उनले जनहीतमा रोपे। गर्दागर्दै उनी नेपाली परिवेशमा एउटा नमूनाका रूपमा नै गणना भए। अन्ततः आधुनिक युगका उनी समाजसेवाको धुरीका रूपमा देखिए।तुलसीमेहरको जन्म १९५३ साल पुस २१ गते ललितपुरको भेलाछेँमा भएको थियो। उनका बुबा कैलाशमेहर श्रेष्ठ जागीरे र आमा योगमाया गृहिणी थिइन्।

तुलसीमेहर किशोरावस्थामा नै हिंसादेखि अलग रहे। सानैदेखि उनले मासु खाएनन् र जाँडरक्सी पनि खाएनन्। विभिन्न चार्डपर्व र भोजभतेरमा उनकी आमाले उनलाई मासु र रक्सी खान जोड गर्थिन् । तर पनि त्यसबारे उनले आफ्नी आमाका कुरा पनि खाएनन्। साथै उनकी आमाले सधैं उनलाई बिहे गर भन्थिन्। आमाको कचकचसमेत सुन्न नसकेपछि उनी बिहान झसिमिसैमा घर छाड्थे र राति अबेर घर आइपुग्थे । यस्त रीतले धेरै वर्षम्म आमा छोराको भेट पनि भएन।

तुलसीमेहर राणाविरोधी आन्दोलनमा भित्रभित्रै छिरेका थिए। त्यति बेला उनी अमरराज जोशीको अध्यक्षतामा गठित सत्याचरण मलामी गुठीका सहायक मन्त्री थिए। यस बेहोरालाई कुरौटेद्वारा महाराज चन्द्रशमशेरको कानको जालीसम्म टाँसियो। दुईहजार रुपियाँ जरिमाना गरेर उनलाई डाँडा कटाउने राणाबाट हुकुम प्रमाङ्गी भयो।

अनि उनले चन्द्रशमशेरलाई जाहेर गरे, ‘महाराज ! म टुहुरो हुँ, त्यति पैसा तिर्न सक्तिन। अब आइन्दा यस्तो काममा पनि लाग्दिन। बरू म सीप सिक्न बाहिर जान पाउँ।’ त्यसपछि उनले माफ पाए र १०० रुपियाँ बाटो खर्च पनि पाए। उनी राणाकै हुकुम सिरोपर गरेर गुजरातको गान्धी आश्रमतर्फ लागे र उनको भाग्यले पनि बलियो साथ दियो।

तुलसीमेहरले गान्धीलाई भेटे। त्यसपछि उनी गान्धीको ठाडो निगरानीमा परे। अनि उनको सरल जीवन र कठोर कामबाट गान्धी पनि प्रभावित भए। त्यसपछि गान्धीले उनलाई आफ्नै घरमा लगेर राखे। तुलसीमेहर गान्धीकै घरमा बसेर गान्धीको धेरै सेवा गरे। त्यतिन्जेलसम्म गान्धीले उनको झैं सेवा कहीँबाट पनि पाउन सकेका थिएनन्।

त्यति मात्र होइन उनी पनि गान्धीकै सिद्धान्तको लुगा लगाउँथे, त्यस्तै खान्थे र त्यतिकै परिश्रम गर्थे । साथै गान्धीकै भक्तिभावनामा डुबेर उनले बिहे पनि गरेनन्। तुलसीमेहर गान्धीसँग अहमदावादको सावरमती आश्रममा चार वर्षमात्र बसे। तर त्यहाँ उनले चालीस वर्षो अनुभव बटुले।

त्यसबेला यी कपासबाट कपडा बुन्ने, धुने, काट्ने र बनाउने सबै इलममा पारङ्गत भए। त्यसैले उनलाई गान्धीले सन् १९२५ दिसम्बर २९ मा एउटा प्रमाणपत्ररुपी चिठी दिए। जुन चिठीमा मोहनदास गान्धीका नाउँमा महात्मा गान्धीले हस्ताक्षर गरेका थिए।

तुलसीमेहरले चार वर्षभारत बस्ता धेरै नेता पनि चिने। नेताहरुका पनि नेता महात्मा गान्धीको महानताबाट उनी बुहारी झर झै गले। अनि फेरि गान्धीकै साथले उनले घरेलु लुगाबारे धेरै नै कुरा जाने। त्यसैबखत गान्धीले उनलाई आफ्नै मातृभूमिमा गएर सेवा गर भने। साथै गान्धीले २ वण्डल कपास, केही थान चर्खा र आठ सय रुपियाँ दिएर उनलाई काठमाडौं पठाए। त्यसैबेला उनले गान्धीसँग एक जोर खराउ मागे। गान्धीले आफूले लगाएको नै खराउ तुलसीमेहरलाई दिए। उनले त्यही खराउको जीवनभर पूजा पनि गरे।

तुलसीमेहरले गान्धी, चर्खा र नेपाली जीवनशैलीबारे प्रधानमन्त्री चन्द्रशमशेर राणालाई जाहेर गरे। आफूले सही ठाउँमा सही मान्छे पठाएछु भन्ने राणामा आत्मगौरव बढ्यो। अनि राणाले तुलसीमेहरलाई काखी चेपे। साथै उनैको सल्लाहमा राणाले ‘श्री चन्द्रकामधेनु चर्खा पचारक महागुठी’ को स्थापना गरे। राणाले त्यस महागुठीको हर्ताकर्ता तुलसीमेहरलाई नै बनाए।

तुलसीमेहरले महागुठीमा चर्खा सिकाउन विधुवा र दलितलाई प्रश्रय दिए। साथै तिनीहरूको सहयोगका लागि उनले मुठ्ठीदानको पनि अभियान चलाए। ग्रहणदान लिने पनि उनैले सुरुवात गरे। उनले चन्द्रशमशेरको कार्यकालभरि नेपालीलाई खादीको लुगामा प्रोत्साहन गरे। तर भीमशमशेर प्रधानमन्त्री भएपछि यस्तो काम राम्रो होइन भन्ने आरोपमा उनलाई जेलमा कोचियो। भीमशमशेर मरेपछि उनले जुद्धशमशेरबाट चर्खाको काम गर्ने अनुमति पाए। त्यसपछि नेपाली महिलाले भारतका विभिन्न प्रान्तमा गएर चर्खाबारे तालीम लिन जान पनि थाले।

तुलसीमेहरबाट २००८ सालमा ‘नेपाल गान्धी स्मारक निधि’ को स्थापना भयो। त्यसको उद्घाटन राजा त्रिभुवन र भारतका प्रधानमन्त्री जवहारलाल नेहरूले गरे। त्यो भव्य समारोहमा प्रधानमन्त्री मोहनशमशेर, वीपी कोइराला र इन्दिरा गान्धीको उपस्थिति थियो।

तुलसीमेहरले काठमाडौंको गोठाटारमा नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारकका लागि जग्गा पाए। त्यहीं नै यिनकै इच्छाले गान्धी आदर्श हाइस्कुल पनि खुल्यो। चर्खा प्रचारक महागुठी चाहिं उनले मुलुकका विभिन्न ठाउँमा खोले। यसका लागि उनले ठाउँठाउँमा जग्गा पनि जोडे। साथै उनको प्राकृतिक चिकित्सामा पनि रुचि थियो। उनले प्रकृति चिकित्सा केन्द्रको पनि स्थापना गरेका थिए।

तुलसीमेहरको जीवनको सेरोफेरो भन्नु- एउटा गान्धी र अर्को चर्खा थियो। यी दुईटा विषयको ज्ञान आर्जन गर्न र काम गर्न उनी आफू जन्मेको ठान्थे। उनका लागि भूगोलभरिमा सबैभन्दा ठूलो कुरा पनि यी दुईटा विषय मात्र थियो। उनी आफैंचर्खा चलाउँथे। उनीसँगै अरूले पनि तान चलाउँथे। उनी प्रायः सधैं रातिराति काम गर्थे।

तुलसीमेहरलाई साहित्यमा पनि रुचि थियो। उनले राणाकालीन समयमा नै ‘विनय पत्रिका’ छपाएका थिए। यस पत्रिकामा नेपाली, संस्कृत, हिन्दी र नेवारी भाषामा लेखरचना प्रकाशित हुन्थे। उनी कवि पनि थिए।

तुलसीमेहरले झिनामसिना धेरै सम्मान र पुरस्कार पाए। उनलाई कुस्लेहरूले पनि सम्मान गरे। साथै उनले जवहारलाल नेहरू पुरस्कार पनि पाए। सरकारले उनका नाउँमा टिकट प्रकाशित गर्‍यो। साथै तुलसीमेहर समाजसेवा पुरस्कारको पनि आविष्कार भयो। उनका नाउँबाट सङ्घसंस्थाको पनि स्थापना भयो।

तुलसीमेहरले आफ्नो जीवनको अन्त्यमा आफूले स्थापना गरेका सबै संस्था एउटै धागोमा उने। अनि उनले त्यस संस्थाको नाउँ ‘नेपाल चर्खा प्रचारक गान्धी स्मारक महागुठी’ राखे। तर उनको शेषपछि त्यस संस्थाको नाउँ नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठी राखियो। २०३५ साल असोज १० गते उनको निधन भएको थियो।

एजेन्सी

Comments

Back to top