डा. केआई सिंह को हुन् ?

के.आई. सिंह अर्थात् कुँवर इन्द्रजीत सिंह विद्रोही नेता तथा नेपालका पूर्वप्रधानमन्त्री थिए। यिनी होमियोप्याथी सम्बन्धी डाक्टर थिए। यिनी नेपालको सिंहदरबार विद्रोहका नायक मानिन्छन्।

डोटीमा वि.सं. १९६३ मा जन्मिएका कुँवर इन्द्रजित सिंह सानै छँदा परिवारसँगै बर्मा पुगेका थिए। उनले त्यहीँ विद्यालय शिक्षा हासिल गरे। बर्मामै उनले आयुर्वेदसम्बन्धी अध्ययन गरेका थिए। चिकित्सक वा विद्यावारिधि नगरेको भए पनि औषधिमूलो गर्ने भएकाले डाक्टर भनिएको थियो। उनले त्यही आधारमा आफ्नो नाम डा. के.आई. सिंह लेख्न थाले।

राणाविरोधी क्रान्तिको उत्कर्षका रुपमा २००७ सालको क्रान्ति सुरु भएलगत्तै २९ कार्तिक २००७ मा सिंहको तर्फबाट बडाहाकिम कार्यलयमाथि पहिलोपटक आक्रमण भयो। चार घण्टा चलेको लडाइँमा सिंहको फौजले गोश्वारा (बडाहाकिम कार्यालय) बाहेक भैरहवाका अरू सबै कार्यालयमाथि नियन्त्रण जमायो। तीन दिनपछि सरकारी फौजले २ मंसीर २००७ (१७ नोभेम्बर १९५०) मा केआई सिंहको अखडामाथि धावा बोल्यो।

तर सिंहमाथि सरकारी फौजले विजय हासिल गर्न सकेन। ठूलो क्षतिका साथ सरकारी सेना आफै फिर्ता हुनुपर्‍यो। भोलिपल्टै सिंहले फेरि आक्रमण गरे। यसपटक उनले अदालत र झ्यालखाना त कब्जामा लिए। तर, बडाहाकिम कार्यालयमाथि कब्जा जमाउने धोको पूरा भएन। २००७ सालको क्रान्तिमा पश्चिम तराईबाट सक्रिय रहेका यिनी दिल्ली सम्झौता धोका हो भनी आन्दोलन रोक्न तयार थिएनन्।

पछि क्रान्तिको निरन्तरताका लागि आन्दोलन गरेपछि यिनी पक्राऊ गरेर काठमाडौंं ल्याइएका थिए। प्रखर स्वाभावका यिनलाई त्यसबेला सिंहदरवारभित्र रहेको बिजुली भवनमा कैद गरिएको थियो। प्रजातान्त्रिक सरकारमा पनि मोहन शमशेर नै प्रधानमन्त्री हुने भएपछि असन्तुष्ट बनेका कमाण्डर केआई सिंह नै सिंहदरबार विद्रोहमा जोडिए। उनले सिंहदरबारको जेलबाटै विद्रोह योजना बनाउन थाले। उनलाई पूर्वका रामप्रसाद राईले साथ दिएका थिए।

पछि त्यहाँ कार्यरत सिपाहीहरूलाई नै प्रभावमा लिई सिंहदरबार नै नियन्त्रण गरेर विद्रोह गरे। सिंहदरबार बाहिर रहेको सेना र भित्र रहेको विद्रोही सेनाबीच गोली हानाहान भयो। अन्त्यमा दूतमार्फत् यिनले आफूलाई सुरक्षित काठमाडौंं उपत्यका बाहिर जान दिने भए विद्रोह छोड्ने बताएपछि सोही अनुसार यिनलाई छोडियो। त्यसपछि यिनी झण्डै १ वर्ष चीन सरकारको शरणमा गएर बसे।

२०१२ भाद्र २७ गते उनले आत्मसमर्पण गरि माफी मागेकाले राजा महेन्द्रले उनको आरोपहरु खारेज गरी माफी दिए। पछि नेपाल फर्केपछि २०१४ सालमा यिनी राजाद्वारा प्रधानमन्त्री बनाइए। यिनको मन्त्रिपरिषद्मा शिक्षा मन्त्री महाकवि लक्ष्मीप्रसाद देवकोटा थिए।

कडा स्वभावका यिनले त्यसबेला सचिव लगायत विभिन्न कर्मचारीहरूलाई हातपातसम्म गरेका थिए। अत्यन्तै कडा स्वभावका देखिएकाले यिनको सरकार ३ महिना पनि टिक्न सकेन। पछि यिनलाई हटाएर सुवर्ण सम्शेर राणाको नेतृत्वमा सरकार गठन भयो। जम्माजम्मी ३ महिना चलेको के.आई. सिंहको मन्त्रीमण्डल यस्तो थियो।

  • के.आई. सिंह – प्रधानमन्त्री, गृह र परराष्ट्र
  • पुरेन्द्रविक्रम शाह – रक्षा मन्त्री
  • परशुरामभक्त माथेमा – उद्योग वाणिज्य मन्त्री
  • सी.बी. सिंह – अर्थ, मालपोत मन्त्री
  • डम्बर बहादुर सिंह – कानून तथा संसदीय प्रबन्ध मन्त्री
  • रामाधीन महतो – वन मन्त्री
  • जीवराज शर्मा – योजना विकास मन्त्री
  • कुलबहादुर लिम्बू – स्वास्थ्य मन्त्री
  • भुपालमान सिंह कार्की – खाद्य कृषि मन्त्री
  • पद्यनरसिंह राणा – पब्लिक वर्कस् तथा सञ्चार मन्त्री
  • लक्ष्मीप्रसाद देवकोटा – शिक्षा, स्वायत्त शासन मन्त्री

यिनको राजा महेन्द्रलाई २००७ साल अघि बाबु–बाजेजस्तै थपनाका राजा बनाई प्राइममिनिस्टर भएर सर्वेसर्वा हुने योजना थियो। तर, जनरल नर शमशेरले भोलिपल्टै नारायणहिटी गए र राजालाई बेलिबिस्तार लगाए। सबै कुरा सुनिसकेपछि राजा महेन्द्रले भने, ‘बदमास पो रहेछ, तिमी धन्दा नमान, म ओखती गर्छु।’ (हेमन्तशमशेर राणा, जनरल नरशमशेर जंगबहादुर राणाको जीवनी, पृ ८८–९२० ।)

त्यत्तिकैमा कार्तिक २९ को दिन प्रधानमन्त्री सिंहलाई दरबारमा बोलाइयो । कुनै अप्रिय अवस्था सिर्जना होला भनेर दरबारभित्रका सेनालाई सतर्क राखियो। दरबारभित्रका कर्मचारीलाई कार्यालयबाहिर ननिस्किन आदेश दिइयो। त्यत्तिकैमा सिंह नारायणहिटी राजदरबार पुगे र राजा महेन्द्रसँग केहीबेर ‘वान–टु–वान टक’ गरेर फर्किए। लगत्तै राजाले केआई सिंह नेतृत्वको मन्त्रिमण्डल विघटन गरेको समाचार सार्वजनिक भयो।

पछि सिंह पञ्चायती राजनीतिमा पनि सांसदसम्म भए। कुँवर इन्द्रजीत सिंह प्रथम राजसभा स्थायी समितिका सभापति हुन्। सरकारले सिंहलाई राजसभा स्थायी समितिको सभापतिमा नियुक्त गर्‍यो। तर, उनी सपथ ग्रहणमा गएनन्। सिंहको सन् १९८२ मा घाँटीको क्यान्सरको उपचार गर्दागर्दै थाइल्याण्डको बैंककमा निधन भयो।

एजेन्सी

Comments

Back to top