को हुन् डा. मारिया मण्टेस्सोरी?

इटालीमा सन् १८७० मा जान्मिएकी मारिया मण्टेस्सोरी ‘मण्टेस्सोरी शिक्षण विधि’की प्रवर्तक हुन् । उनी २०औं शताब्दीको पूर्वाद्र्धकी पहिलो सक्षम फिजिसियन तथा बालशिक्षाविद् हुन्, जसले संसारको बालशिक्षामा मण्टेस्सोरी विधिलाई परिचित गराइन् । मारियाले शिक्षाबाट वञ्चित मानसिक र शारीरिक रूपमा असक्षम बालबालिकाका लागि शिक्षा दिन शुरू गरिन् ।

मानसिक रूपमा केही असक्त हुँदैमा शिक्षाबाट वञ्चित हुनुपर्ने सामाजिक कुप्रचलन तोड्ने तथा त्यस्ता बालबालिकालाई शिक्षा दिनुलाई उनले उद्देश्यका रूपमा विकास गरिन् । उनले पछाडि ‘फ्रोबिलियन’ धारका शिक्षकलाई तालीम दिनुपर्ने आवश्यकता देखिन् । र, शिक्षकहरूलाई तालीम दिन शुरू गरिन् । साथै, उनले साधारण शिक्षा कार्यक्रमका रूपमा केही सिद्धान्तको विकास गरिन् ।

‘पहिले अनुभूतिको शिक्षा हुनुपर्छ, त्यसपछि बौद्धिक शिक्षा’ भन्ने मारिया मण्टेस्सोरीको विचार हो । सोहीअनुरूपको शिक्षण प्रक्रिया अहिले विश्वचर्चित शैक्षिक विधिका रूपमा लागू भइरहेको छ । २ देखि ६ वर्षबीचका बालबालिकाको मस्तिष्क जति क्रियाशील हुन्छ, त्यसले उनीहरूको मस्तिष्कको विकास हुने मण्टेस्सोरीले पत्ता लगाइन् ।

बालबालिकालाई दोहोर्‍याएर प्रयास गर भनेर कर नगरी उनीहरूलाई सिकाइमा जागरुक र सबल बनाउन अभ्यास एवम् क्रियाकलाप विधि अपनाउनुपर्ने धारणा व्यक्त गरिन् । ‘हेर्नु भनेको पढ्नु हो भने छुनु भनेको लेख्नु हो’ यी क्रियाकलाप दोहोरिन पनि सक्ने मण्टेस्सोरी विधिको अवधारणा हो ।

बालशिक्षासम्बन्धी विभिन्न अनुसन्धान गरी उनले मण्टेस्सोरी विधिको शुरुआत गरिन् । उनले सामान्य पढाइलेखाइमा मात्र आधारित परम्परागत शिक्षाभन्दा माथि उठेर क्रियाकलापमा आधारित शिक्षाको शुरुआत गरिन्, जुन विधि अहिले सारा विश्वले पछ्याइरहेको छ । बालकले कुनै कुराको अनुभूति आफैले गर्नुपर्ने, आत्मनिर्भर क्रियाकलापको व्यवस्था हुनुपर्ने, व्यवहार र वातावरणीय शिक्षामा जोड दिनुपर्ने मण्टेस्सोरीले बताएकी थिइन् ।

मारियाको यही विधि/सिद्धान्त वा दर्शनमा आधारित भएर अहिले विश्वमै ‘मण्टेस्सोरी शिक्षण विधि’ लोकप्रिय भइरहेको छ ।

एजेन्सी

Comments

Back to top