ब्राजिलमा सामाजिक सञ्जाल 'एक्स' माथि प्रतिबन्ध

ब्राजिलमा सामाजिक सञ्जाल 'एक्स' माथि प्रतिबन्ध गरिएको छ । ब्राजिलको सर्वोच्च अदालतको फैसलापछि पछिल्लो कदम चालिएको हो । यसअघि दिएको २४ घण्टे अवधिमा एक्सले ब्राजिलमा आफ्नो कानुनी प्रतिनिधि नियुक्त गर्न असफल भयो । अदालतका सबै आदेश पूरा नगरेसम्म र जरिवाना नतिरेसम्म एक्सलाई ‘तत्काल र पूर्णरूपमा प्रतिबन्ध’ गर्न न्यायाधीश अलेक्जान्डर डे मोरेसले आदेश दिएका हुन् ।

अस्ति बिहीवार सर्वोच्च अदालतका न्यायाधीश मोरेसले एलन मस्कलाई २४ घण्टाभित्र आफ्नो सामाजिक सञ्जाल ‘एक्स’ को तर्फबाट कानूनी प्रतिनिधि नियुक्त गर्न आदेश दिएको थिए। तोकिएको अवधिमा कानून व्यवसायी नियुक्त नगरेमा देशव्यापी रूपमा प्रतिबन्ध लगाउने चेतावनीसमेत दिएका थिए ।

यस वर्षको शुरूमा ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीश मोरेसले 'एक्स' का विभिन्न खाताबाट दुष्प्रचार फैलाएको आरोप लगाउँदै केही खाता बन्द गर्न आदेश दिएपछि विवाद शुरू भएको हो । तर 'एक्स' का प्रमुख मस्कले ब्राजिलका न्यायाधीशको आदेशलाई चुनौती दिँदै पुराना केही खातामाथिको प्रतिबन्ध हटाएको थिए । पछिल्लो कदमले मस्क र ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीशबीच अभिव्यक्ति स्वतन्त्रता, तथा गलत सूचनाको विषयलाई थप बढाउने देखिएको छ ।

एजेन्सी

Comments

Back to top