अढाई महिनापछि हेटौंडा सिमेन्ट उद्योग सञ्चालनमा
हेटौंडा-९ लामसुरस्थित हेटौंडा सिमेन्ट उद्योगले अढाई महिनापछि क्लिङ्कर उत्पादन सुरू गरेको छ। उद्योगलाई आवश्यक पर्ने कच्चापदार्थ कोइला अभाव, उत्पादन भएको सिमेन्ट बिक्री नहुने, बिग्रेका मेसिन मर्मत गर्ने रकम अभावजस्ता कारणले अढाई महिनादेखि हेटौंडा सिमेन्ट उद्योगको उत्पादन बन्द भएको थियो।
उद्योगले उत्पादन गरेको सिमेन्ट बिक्री हुन नसकेका कारण केही महिनाअघिसम्म समस्या थियो तर अहिले उद्योगमा करिब तीन हजार पाँच सय बोरा तयारी सिमेन्ट मौज्दात रहेको हेटौंडा सिमेन्ट उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले जानकारी दिए।
उनले करिब २० दिनका लागि आवश्यक कोइला मौज्दात राखेर उद्योग सञ्चालन सुरू गरिएको बताए।
उद्योगले उत्पादन गरेको सिमेन्ट बिक्री नभएपछि स्टकमा बसेको र कोइला खरिद गर्न रकम अभाव भएको उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले बताए। उद्योगले केही दिनअघि मात्र कोइला खरिद गरेको उनको भनाई छ।
भारत, इन्डोनेसिया र भूटानबाट उद्योगलाई आवश्यक पर्ने कोइला बोलपत्रमार्फत आपूर्ति गर्दै आएको छ।
महाप्रबन्धक कर्णले कच्चापदार्थभन्दा पनि चार दशक पुराना मेसिन पटकपटक बिग्रेर मर्मत गर्ने काममा समस्या रहेको जानकारी दिए। उद्योगलाई आवश्यक पर्ने कोइला उद्योगमा मौज्दात भएपछि पुनः सिमेन्ट उत्पादन सुरू गरिएको हो।
एजेन्सी
Comments