बीवाईडीको २०२४ भर्सन एट्टो ३ सार्वजनिक
नेपालमा बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले २०२४ भर्सनको बीवाईडी एट्टो ३ औपचारिक रुपमा सार्वजनिक गरेको छ।
काठमाडौंको दरवारमार्गमा भएको कार्यक्रममा पूर्व बैंकर तथा पब्लिक स्पिकर अनिल केशरी शाह र प्रसिद्ध गायक वाङदेन फिन्सो शेर्पा तथा बरिष्ठ हास्य कलाकार एवं बीवाईडी नेपालका ब्रान्ड एम्बेसडर हरिवंश आचार्य लगायतको सहभागिता थियो।
सो अवसरमा २०२४ भर्सनको बीवाईडी एट्टो ३ को पहिलो ग्राहकलाई आचार्यले गाडी उपलब्ध गराएका थिए भने अन्य अतिथिहरूले समेत नयाँ बीवाईडी एट्टो ३ का ग्राहकलाई चाबी हस्तान्तरण गरेका थिए।
नेपाल भित्रिएको दुई वर्ष भन्दा कम समयमै ३ हजार युनिट भन्दा बढी बीवाईडी एट्टो ३ नेपाली सडकमा गुडिरहेका छन्।
ड्राइभिङ अनुभवलाई अझै राम्रो बनाउन बीवाईडी एट्टो ३ को २०२४ भर्सनमा आकर्षक अपग्रेड गरिनुका साथै नयाँ फिचर समेत थपिएका छन्। हाल यो गाडी कसमस ब्ल्याक कलरमा समेत उपलब्ध भएको छ।
गाडीको इन्टेरियर युनिक ब्ल्याक र ब्लु कलर स्किममा उपलब्ध गराएको कम्पनीले एक्सटेरियरमा पनि सुधार गरेको कम्पनीको दाबी छ।
बीवाईडी एट्टो ३ को इन्फोटेनमेन्ट सिस्टमलाई समेत थप अपग्रेड गरिएको छ। पहिले १२.८ इन्च रहेकोमा अब यो १५.६ इन्च छ र यसले ड्राइभर तथा प्यासेन्जरको डिजिटल अनुभवलाई अझै रमाइलो बनाउँछ।
सुपेरियर ग्रिप र सबै टेरेन्समा राम्रो ह्यान्डलिङ प्रदान गर्न गाडीको दुवै भेरिएन्ट हाई-पर्फमेन्स कन्टिनेन्टल टायर समावेश गरिएको कम्पनीले जनाएको छ।
बीवाईडी एट्टो ३ को २०२४ भर्सनमा थप गरिएको सबैभन्दा महत्वपूर्ण नयाँ फिचर बीवाईडी एप हो। यसले सवारी धनीको ड्राइभिङ अनुभवलाई सहज बनाउँदै रेन्ज र पावर लेभल चेक गर्न, टायर प्रेसर चेक गर्न र गाडीका ढोका तथा झ्याल बन्द भएको वा नभएको बारेमा थाहा पाउन समेत सकिन्छ।
त्यसैगरी टाढैबाट गाडीको लोकेसन पत्ता लगाउन, एसी सञ्चालन गर्न र गाडीको हर्न तथा लाइट नियन्त्रण गर्न सकिन्छ।
बीवाईडी एट्टो ३ २०२४ भर्सन एड्भान्स्ड र सुपेरियर गरी दुई भेरिएन्टमा उपलब्ध रहेको छ। एड्भान्स्डमा ४९.९२ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ र यसको मूल्य ५६ लाख ९० हजार रुपैयाँ तोकिएको छ।
त्यसैगरी सुपेरियरमा ६०.४८ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ र यसको मूल्य ६७ लाख ८० हजार रुपैयाँ तोकिएको छ। दुवैमा १०० किलोवाटको मोटर रहेको छ।
बीवाईडी एट्टो ३ को २०२४ भर्सन कसमस ब्ल्याक, स्कि ह्वाइट, बुल्डर ग्रे र सर्फ ब्लु गरी विभिन्न चार कलर अप्सनमा उपलब्ध छ।
एजेन्सी
Comments