भारतले थप २५१ मेगावाट विद्युत् खरिद गर्ने, प्रति युनिट बिक्री दर ८ रुपैयाँ ७२ पैसा
नेपालले भारतलाई बिक्री गर्ने थप बिजुलीको दररेट तय भएको छ । नेपाल विद्युत प्राधिकरणले भारतलाई बेच्न लागेको थप २५१ मेगावाट बिजुलीको भाउ सार्वजनिक गरेको हो ।
प्राधिकरणका अनुसार प्रति युनिट ८ रुपैयाँ ७२ पैसामा भारतलाई बिक्री गरिनेछ । थप निर्यात हुने बिजुली भारतका बिहार र हरियाणा राज्यमा जाने पनि प्राधिकरणले जनाएको छ ।
भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले हरियाणा राज्यलाई थप १२५.८९ मेगावाट र बिहारलाई १२५ मेगावाट बिजुली निर्यात हुने प्राधिकरणले विज्ञप्तिमार्फत जनाएको छ ।
बिहारसँग प्रसारण लाइन जोडिएका कटैया, रक्सौल र रामनगर विन्दुमार्फत विद्युत् निर्यात गरिनेछ । प्राधिकरणले हरियाणा राज्यलाई हाल १०९ मेगावाट विद्युत् बिक्री गरिरहेको छ ।
नेपालमा खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् हरेक वर्ष जुन देखि अक्टोबरसम्म बिहार र हरियाणालाई बिक्री गरिने छ । योसँगै मध्यकालीन सम्झौता बमोजिम भारतका राज्यस्तरका वितरण कम्पनीहरुलाई बिक्री गरिने विद्युत्को परिमाण ३६० मेगावाट पुगेका प्राधिकरणले जनाएको छ ।
प्रतिस्पर्धी बजार र मध्यकालीन सम्झौता बमोजिम भारतीय बजारमा २८ वटा आयोजनाबाट उत्पादित ९४१ मेगावाट विद्युत् बिक्री हुनेछ ।
भारतीय पक्षबाट स्वीकृति पाएसँग अब छिट्टै बिहार र हरियाणामा थप विद्युत् निर्यात सुरु गरिने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
‘अब विद्युत् निर्यातको परिणाम बढ्दै जानेछ ।’ चालु आर्थिक वर्षमा २५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात गर्ने लक्ष्य राखिएको घिसिङले बताए ।
गत आर्थिक वर्षमा भारतबाट १ अर्ब ८९ करोड युनिट अर्थात १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् आयात गरेको थियो । तर, यही अवधिमा १ अर्ब ९५ करोड युनिट विद्युत् भारतर्फ निर्यात गरी १७ अर्ब ६ करोड रुपैयाँ आम्दानी गरेको थियो ।
एजेन्सी
Comments