दुई हिमताल फुटेर थामेमा विपत्ति आएको पुष्टि, जोखिम कायमै

सोलुखुम्बुमा हिमताल फुटेर बाढी आएको पुष्टि भएको छ।  राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोलीले हेलिकोप्टरबाट अध्ययन अवलोकन गरेर दुईवटा हिमताल फुट्दा थामेमा बाढीको विपत्ति आएको निष्कर्ष निकालेको हो।

टाँसिलाप्चा क्षेत्रमा रहेका पाँचवटा हिमताल र दर्जनौँ पोखरीहरूमध्ये दुईवटा हिमताल फुटेको र त्यसले अन्य स–साना पोखरी र हिउँ जमेको ठाउँ फुट्दा ठूलो बाढीको रूप लिएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डेलाई जानकारी गराएका छन्। 

प्राविधिक टोलीले थप हिमतालहरू फुट्ने जोखिममा रहेकाले सतर्क रहन सूचित गरेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताइन्। 

‘प्राविधिक टोलीसहित हामीले पनि अवलोकन गरेर आयौँ, केही तालहरू फुटेर बाढी सुरु भएको देखिन्छ,’ प्रजिअ पाण्डेले नयाँ पत्रिकासँग भनिन्, ‘प्राविधिक टोलीले दुईवटा हिमताल फुटेर हिजोको बाढी आएको र थप दुईवटा हिमताल जोखिममा रहेको र अन्य स–साना पोखरीहरूसमेत फुट्ने सम्भावना रहेको जानकारी दिएको छ।’ 

शुक्रबारको बाढीबाट प्रभावितलाई राहत, उद्धारका काम सुरु गरिएको र थप जोखिमलाई ख्याल गर्दै विशेष सतर्कता अपनाउन सूचित गरिएको प्रजिअ पाण्डेको भनाइ छ। 

एजेन्सी

Comments

Back to top