सार्वजनिक यातायातमा जीपीएस र सीसी टिभी अनिवार्य जोड्नुपर्ने

सार्वजनिक यातायातमा जीपीएस र सीसी टिभी अनिवार्य जडान गर्न सरकारले यातायात व्यवसायीहरुलाई निर्देशन दिएको छ । गृह मन्त्रालयले सार्वजनिक यातायात सुरक्षित र भरपर्दो बनाउन भन्दै सार्वजनिक यातायात व्यवसायीको संघ र महासंघहरुलाई १२ बुँदे निर्देशन दिएको हो ।

मन्त्रालयले बुधबार यातायात व्यवसायी राष्ट्रिय महासङ्घलाई पत्र लेख्दै सिमलताल घटना अध्ययन प्रतिवेदनको सुझाव कार्यान्वयन गर्न भनेको छ । २८ असारमा नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर–२९, सिमलतालमा गएको पहिरोले दुई वटा यात्रुवाहक बस त्रिशूली नदीमा खसालेर बेपत्ता पारेको घटनाबारेको अध्ययन प्रतिवेदनका विषयहरू कार्यान्वयन भन्दै यस्तो निर्देशन दिइएको हो ।

गृह मन्त्रालयले यात्रुलाई टिकट काटेर मात्र यात्रा गराउन, अनलाइन टिकट प्रणालीको विकास गरी कार्यान्वयन गर्न र यात्रुको पहिचान खुल्ने कागजात लिएर मात्र यात्रा गर्ने कुरालाई व्यवहारमा उतार्न भनेको छ ।

सबै चालक तथा सहचालकसँग रोजगार सम्झौता अनिवार्य रूपमा गर्न र न्यूनतम तलब/ज्यालाको व्यवस्था गरी सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गर्न पनि सरकारले व्यवसायीलाई निर्देशन दिएको छ । लामो दुरीका यातायातमा दुई जना चालक राख्ने व्यवस्थाको पालना गर्न समेत निर्देशनमा भनिएको छ ।

एजेन्सी

Comments

Back to top