इरानमा एकैदिन २९ जनालाई फाँसी दिइयो
इरानमा एकैदिन २९ जनालाई मृत्युदण्ड दिइएको छ । २६ जनालाई तेहरानबाहिरको गेजलहसार जेलमा र बाँकी ३ जनालाई काराज सहरको जेलमा झुण्ड्याइएको हो ।
एएफपीका अनुसार नर्वेको मानवअधिकार संगठनले यो दाबी गरेको हो । बुधबार फाँसीमा झुण्डिएकामध्ये दुई अफगान नागरिक पनि थिए । उनीहरुमाथि हत्या, लागुऔषध ओसारपसार र बलात्कारको आरोप थियो ।
अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिष्ट न्यूज एजेन्सी र सेन्टर फर ह्युमन राइट्स इन इरानले गेजलहसार जेलमा कम्तीमा दुई दर्जन व्यक्तिलाई मृत्युदण्ड दिइएको पुष्टि गरेको छ ।
इरानले जनतामा डर पैदा गर्न सन् २०२२ को विरोध प्रदर्शनमा संलग्न व्यक्तिलाई मृत्युदण्ड दिएको आरोप लगाइएको छ ।
इरानसँग सम्बन्धित मानवअधिकार संस्था आईएचआरका निर्देशक महमूद अमिरी मोगद्दमले यसतर्फ अन्तर्राष्ट्रिय समुदायले खासै ध्यान नदिएको बताए ।
इरानमाथि कुनै दबाब छैन, जसका कारण सरकारले आगामी महिना सयौंलाई फाँसी दिन सक्छ । एकै दिनमा यति ठूलो संख्यामा मानिसलाई फाँसी दिइएको यो सन् २००९ पछि पहिलो पटक भएको उनी बताउँछन् ।
रिपोर्टका अनुसार यसअघि मंगलबार मानवअधिकार समूहहरूले इरानमा एक व्यक्तिलाई फाँसी दिएकोमा आलोचना गरेका थिए । उक्त व्यक्तिलाई रिभोलुसनरी गार्डको हत्या गरेको अभियोगमा दोषी ठहर गरिएको थियो । उनलाई यातना दिएर अपराध स्वीकार गर्न बाध्य पारिएको कार्यकर्ता बताउँछन् ।
एजेन्सी
Comments