इजरायल–हिजबुल्लाहबीच तनाव बढेसँगै लेबनानको बेरुत विमानस्थलबाट हुने उडान रद्द
इजरायल र हिजबुल्लाहबीचको तनावलाई लिएर एअरलाइन्सहरूले लेबनानको बेरुत विमानस्थलबाट हुने उडान रद्द गरेका छन् । इजरायल र लेबनानको विद्रोही समूह हिजबुल्लाहबीच युद्धको सम्भावनालाई मध्यनजर गर्दै एअरलाइन्सहरूले बेरुत विमानस्थलबाट हुने उडान रद्द गरेका कतारी सञ्चारमाध्यम अल जजिराले जनाएको छ ।
जर्मनीको लुफ्थान्सा, स्विस इन्टरनेशनल एअरलाइन्स, युरोविङ्ग्स लगायतले बेरुत आउने/जाने पाँच वटा रुट आजसम्मका लागि निलम्बन गरेको खबरमा उल्लेख छ । यस्तै लेबनानको मध्यपूर्व एअरलाइन्स (एमईए) ले जोखिमलाई उद्धृत गर्दै केही उडानहरूको तालिका स्थगित गरेको छ ।
इजरायली कब्जामा रहेको सिरियाको भूमि गोलान हाइट्समा बालबालिकासहित कम्तीमा १२ जनाको ज्यान जाने गरी भएको रकेट आक्रमणपछि इजरायल–हिजबुल्लाहबीच तनाव चुलिएको छ ।
इजरायल–हिजबुल्लाहबीच तनाव बढेसँगै मध्यपूर्व नै जोखिममा फस्ने सम्भावना बढेको छ । यो तनावले गाजामा युद्धविरामको वार्तामा समेत असर पुग्ने खतरा रहेको जर्मनी सञ्चारमाध्यम ‘डीडब्ल्यू’ ले लेखेको छ ।
एजेन्सी
Comments