स्कुल बसको गति सीमित बनाउने नियम बनाउन सरकारलाई सांसदहरूकाे सुझाव

सांसदहरूले कास्कीको पोखरा महानगरपालिका–२१ मा दुर्घटनामा परेको विद्यार्थी बोकेको स्कुल बसको विषयबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा सांसद शिव नेपालीले तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको निष्कर्ष रहेको उल्लेख गर्दै विद्यालयको बसको गति सीमित बनाउने नियम बनाउन र नियमन गर्न सरकारलाई सुझाव दिए।

कास्कीको पोखरा महानगरपालिका–२१ मटिखान नजिकै एलपी देवकोटा मेमोरियल इङ्लिस बोर्डिङ स्कुलको बस आज बिहान दुर्घटनामा परेको थियो । दुर्घटनामा ६ वर्षीय प्रिन्स विक र ३३ वर्षीया आरती विकको ज्यान गएको छ । दुर्घटनामा विद्यार्थीसहित २३ जना घाइते भएका छन् ।

सांसद नेपालीले उड्नेबाट यात्रा गरे शव नै नचिनिने र गुड्नेबाट यात्रा गरे शव नै नभेटिने अवस्था रहेकाले दुर्घटना न्यूनीकरणमा सरकारको ध्यान जानुपर्ने बताए। यस्तै सांसद अब्दुल खानले पोखरामा भएको स्कुल बस दुर्घटनामा परेका विद्यार्थीको उपचारमा ध्यान दिन सरकारसँग माग गरे ।

एजेन्सी

Comments

Back to top