लुम्बिनी केबलकारमा भदौसम्म मर्निङ अफर, हरेक सोमबार बिहान टिकट दर ५ सय मात्र
लुम्बिनी केबलकारले साउन १४ देखि भदौ मसान्तसम्म सोमबारका दिनहरूमा टिकट दर आधा सस्तो हुने गरी ‘मर्निङ अफर’ ल्याएको छ ।
साउन १४ गते देखि भदौ मसान्तसम्मका ८ वटा सोमबारका दिन बिहान साढे ८ बजेदेखि १२ बजेसम्म टिकट खरिदमा साधारण टिकट दरमा ५० प्रतिशत छुट सहित मर्निङ अफर ल्याइएको केबलकारका अपरेसन म्यानेजर डीएन कायस्थ सैंजूले जानकारी दिए ।
केबलकारको साधारण टिकट दर एक हजार रुपैयाँ छ । यो अफर अनुसार पर्यटक र भक्तजनहरूले केबलकारको दुईतर्फी यात्राका लागि ५ सय रुपैयाँ मात्र तिर्नुपर्ने छ ।
‘बिहान साढे ८ बजेदेखि १२ बजेसम्म टिकट खरिद गर्दा मात्र छुट अफर लागु हुन्छ तर टिकट लिएकाहरू १२ बजेदेखि साँझसम्म आफू अनुकूल समयमा केबलकार चढ्न पाउँछन्’– अपरेसन म्यानेजर कायस्थले भने ।
सो बाहेक अन्य समयमा भने पुरानै टिकट दर कायम गरिएको छ । यो अफरले आम सर्वसाधारणलाई सस्तो शुल्कमा केबलकार यात्रा तथा प्रख्यात शक्ति पीठ कामाख्या मन्दिर र सय वर्षदेखि पूजाआजा हुँदै आएको दुर्गा माता मन्दिर दर्शन तथा साउनभर जलार्पण गर्ने अवसर मिल्ने कम्पनीले जनाएको छ ।
साउन महिनामा वसन्तपुरको टप स्टेसनमा महादेव शिवलाई जलार्पण गर्ने व्यवस्थासमेत रहेको कम्पनीले जनाएको छ । मर्निङ अफर भारतीय पर्यटकमा पनि लागु हुने र उनीहरूले ५ सय रुपैयाँ भारुमा टिकट खरिद गर्न सक्ने छन् ।
एजेन्सी
Comments