जेके रोलिङः एउटा किताब लेखेरै अर्बपति

पूर्वीय सभ्यतामा महाभारत र रामायणको लोकप्रियता जस्तै पश्चिमी समाजमा एउटा पुस्तकले वर्षौंदेखि बजार पिटिरहेको छ । विशेषगरी आधुनिक साहित्यको क्षेत्रमा ह्यारी पोटर सर्वाधिक चर्चित र आर्थिक रुपमा पनि अहिलेसम्मकै धेरै आम्दानी गर्न सफल पुस्तक हो । बेलायती लेखक जे के रोलिङ यही एउटै पुस्तक लेखेर अर्बपति बनिन् ।

सात वटा सिरिजमा लेखिएको यो उपन्यासले ह्यारी पोटर नामको एक जादुगर किशोर र उसका साथीहरुको रोचक जीवनलाई वर्णन गरेको छ । जहाँ प्रमुख पात्रको रुपमा ह्यारी पोटरसँगै हर्मियोन ग्रेन्जर र रोन वेस्लीको जीवन देखिन्छन् । उनीहरु सबै स्कुले विद्यार्थी हुन् ।

यो पुस्तकको सिरिज पहिलो पटक अमेरिकाको ब्लुम्सबरी र अमेरिकाको स्कोलस्टिक प्रेसले अंग्रेजी भाषामा प्रकाशन गरेका थिए । आजै दिन अर्थात् २६ जुन १९९७ मा पहिलो पटक प्रकाशित यो पुस्तक हालसम्म ८५ भाषामा बजारमा उपलब्ध छ ।

१९९७ मा प्रकाशित भएपछि हरेक वर्ष जस्तै सिरिजका नयाँ पुस्तक प्रकाशित भए । एउटा बालसाहित्य लेखिएको २७ वर्षको अवधिमा यसका लेखक कसरी अर्बपति बनिन् ? जवकि पुस्तकको सात सिरिज १९९७ देखि २००७ सम्म अर्थात् १० वर्षको अवधिमा लेखिएका थिए । यो पुस्तकको प्रशंसासँगै आर्थिक रुपमा पनि लेखक कसरी अनपेक्षित रुपमा सफल भइन् ? यसबारे रोचक तथ्यहरु सार्वजनिक भएका छन् ।

पुस्तकको कुल फ्रेन्चाइज पुँजी २५ अर्ब अमेरिकी डलर

लेखक जेके रोलिङले यही पुस्तकबाट कति आम्दानी गरिन् ? यतिसम्म कि सिरिजका पछिल्ला चार पुस्तकहरुले इतिहासमै सबैभन्दा तीब्र गतिमा बिक्रीको विश्व रेकर्ड राखेका छन् । अर्थात् सिरिजको पछिल्लो पुस्तक प्रकाशन भएको २४ घण्टामा युकेमा लगभग २ करोड ७० लाख र अमेरिकामा ८ करोड ३० लाख प्रति बिक्री भएको थियो । पुस्तक प्रकाशन भएको २४ घण्टाको अवधिमा यति तीब्र गतिमा बिक्री भएको यो विश्वमै एक मात्र घटना हो ।

ह्यारी पोटर सम्भवत:सबैभन्दा धेरै आम्दानी गर्ने पुस्तक हो । यसको ब्यापारले यसका लेखक, प्रकाशकलाई मात्रै धनी बनाएर ह्यारी पोटर सम्बन्धी लाइसेन्स होल्डरहरु पनि यो पुस्तक बेचेर राम्रो आम्दानी गरे ।
यतिसम्म कि यही पुस्तकको सफलताले लेखक रोलिङ स्टोनलाई संसारकै पहिलो र एक मात्र अर्बपति लेखक बनायो ।

यो पुस्तक हालसम्म ६० करोड कपीभन्दा धेरै बिक्री भएको बताइन्छ । साथै वार्नर ब्रदर्सले बनाएको लोकप्रिय एडप्टेसन फिल्मको स्रोत पनि यही पुस्तक हो । २०१८ को अन्त्यमा सार्वजनिक गरिएको तथ्यांक हेर्दा यो पुस्तकले ७ अर्ब ७० करोड अमेरिकी डलर कुल आम्दानी गरिसकेको थियो । हालसम्म झण्डै ८ अर्ब डलर कमाइ गरेको आकलन गरिन्छ।

यससँगै पुस्तकको एडप्टेसन फिल्मले विश्वव्यापी बक्स अफिसमा ६ अर्ब ५० करोड अमेरिकी डलर कमाइ गरेको छ। पुस्तकमाथि फिल्म र भिडियो गेम लगायत ४ सयभन्दा धेरै अतिरिक्त सिर्जना आइसकेका छन् । पुस्तकसँग जोडिएका सबै सिर्जनाहरुको कुल फ्रेन्चाइजको मूल्य अनुमानित २५ अर्ब अमेरिकी डलर पुगेको छ ।

विश्वकै उत्कृष्ट बालसाहित्य, ५ लाख अग्रिम माग गरिएको पुस्तक, ७ लाख कपी अग्रिम बिक्री भएको पुस्तक लगायत यसले दर्जनौं विश्व रेकर्ड राखिसकेको छ । यस पुस्तक सिरिजका सात उपन्यास आज पनि अत्यधिक बिक्री हुने क्रम जारी छ । ह्यारी पोटर सिरिजको पहिलो उपन्यास ‘ह्यारी पोटर एन्ड द फिलोसोफर्स स्टोन’ १२ करोडभन्दा धेरै कपी बिक्री भइसकेको छ । जुन पुस्तक इतिहासमै सबैभन्दा धेरै बिक्री हुने पुस्तकको रुपमा चिनिन्छ ।

यससँगै सिरिजको दोस्रो ‘ह्यारी पोटर एन्ड द च्याम्बर अफ सेक्रेट्स’ ७ करोड ७० लाख कपी बिक्री भयो । यस्तै ‘ह्यारी पोटर एन्ड द प्रिजनर अफ अज्काबन’ ६ करोड ५० लाख बिक्री । ‘ह्यारी पोटर एन्ड द गब्लेट अफ फायर’ ६ करोड ५० लाख प्रति बिक्री भयो । ‘ह्यारी पोटर एन्ड द अर्डर अफ फिनिक्स’ ६ करोड ५० लाख प्रति बिक्री भयो । ‘ह्यारी पोटर एन्ड द हाफ ब्लड प्रिन्स’ ६ करोड ५० लाख प्रति बिक्री भयो। यस्तै सिरिजको सातौं पुस्तक ‘ह्यारी पोटर एन्ड द डेथली हेलोज’ ६ करोड ५० लाख प्रति बिक्री भइसकेको छ ।

यद्यपि यस पुस्तकको डोमेन नेम, केही अवार्ड लगायतका विषयमा विवाद पनि उठेको थियो । त्यस्ता केही विवादका बावजुद पुस्तक विश्वभर अत्यधिक चर्चित र आर्थिक रुपमा पनि सबैभन्दा धेरै सफल एक मात्र पुस्तकको रुपमा ह्यारी पोटर चिनिन्छ । पुस्तक इतिहासमै यो पुस्तकको बिक्री र बजारलाई जित्ने अन्य पुस्तक सायदै आउने आकलन गरिन्छ।

को हुन् जेके रोलिङ ?

बेलायतको मध्यमवर्गीय परिवारमा १९६५ को जुलाइ ३१ मा बेलायतको एक अस्पतालमा उनी जन्मिएकी थिइन् । जेके रोलिङ चाहिँ उनको पुस्तकमा प्रयोग हुने उपनाम हो। उनको खास नाम जोआन क्याथलिन रोलिङ हो ।

१९९० मा उनी एमनेस्टी इन्टरनेसनलमा रिसर्चर र सेक्रेटरीको रुपमा कार्यरत थिइन् । त्यसपछिका सात वर्षमा उनले जीवनमै कठिन संघर्ष गर्नुपरेको थियो । जस्तै आमाको मृत्यु, पहिलो सन्तानको जन्म, डिभोर्स र गरिबी जस्ता समस्याले उनलाई सताएको थियो ।

१९९७ मा जब पहिलो पुस्तक प्रकाशन भयो त्यसपछि उनले पछाडि फर्केर हेर्नु परेको छैन । १९९७ देखि २००७ सम्म उनले ह्यारी पोटरको सिरिज लेखिरहिन् । यस अवधिमा उनले यति धेरै कमाइन् कि बिजनेस म्यागजिन फोर्ब्सले उनलाई विश्वकै सर्वाधिक कमाउने लेखिकाको लिस्टमा सूचीकृत गर्‍यो ।

अर्बौं अमेरिकी डलरको कमाइसँगै उनले कैयौं परोपकारी काममा पनि खर्च गरिसकेकी छन् । यसबीचमा उनले संकटमा रहेका महिला र बालबालिकाहरुका लागि च्यारिटी स्थापना गरिसकेकी छन् । जसको नाम उनले आफ्नी आमाको नामबाट जुराएकी छन् । साथै बेलायतको लेबर पार्टीलाई चन्दा दिँदै उनले ब्रेक्जिटको कडा स्वरमा विरोध गरेकी थिइन् ।

ह्यारी पोटर पुस्तक जति सफल छ प्रकाशन गर्नुभन्दा पहिले यसकी लेखक जेके रोलिङले उत्तिकै असफलताको संघर्ष झेल्नुपरेको थियो । १२ वटा प्रकाशकले लगातार अस्विकार गरेपछि मात्रै १३औं प्रयासमा ब्लुम्सबरी पुस्तक प्रकाशन गर्न तयार भएको थियो । रोलिङले यस पुस्कत लेख्न सुरु गर्दा पाठकको लक्षित उमेर समूहबारे कुनै मनस्थिति बनाएकी थिइनन् । प्रकाशकहरुले भने सुरुमा ९ वर्षदेखि ११ वर्षको उमेर समूहलाई लक्षित गरेका थिए ।

प्रकाशन गर्नुअघिको साँझ रोलिङले प्रकाशकलाई आफ्नो वास्तविक नामको सट्टामा उपनाम राख्नका लागि प्रस्ताव गरेकी थिइन् । पुरुष पाठकहरुलाई लेखक पुरुष हो वा महिला भनेर सार्वजनिक नगर्नु उनको लक्ष्य थियो । यस्तो रहस्यबाट पुरुष पाठकहरु पुस्तकप्रति आकर्षिक हुनसक्लान् भन्ने उनको आशय थियो । यसैले उनले आफ्नो वास्तविक नामको सट्टा जेके रोलिङ मात्रै लेखिन् । र पहिलो प्रकाशनबाटै यस पुस्तकले १ लाख ५ हजार अमेरिकी डलर कमाइ गरेको थियो ।

रोलिङका बाबु रोयल नेभीमा कार्यरत थिए । रोलिङलाई इंग्ल्यान्डमा स्कलमा पढ्ने बेला नै आफ्नी आमाले रिचर्ड स्करीको कितावबारे जानकारी दिएकी थिइन् । यसरी ६ वर्षको उमेरमै रोलिङको लेखन प्रयास सुरु भएको थियो । त्यसबेला उनले ‘र्‍याबिट’ नामको कथा लेखेकी थिइन् । जुन कुराको प्रेरणा उनले आफ्नी आमामार्फत रिचर्डको पुस्तकबाट पाएकी थिइन् । उनी सानो छँदा घरमा धेरै पुस्तक देखेर हुर्किएकी थिइन् । जहाँ उनी पढ्न रुचाउँथिन् । उनी ११,१२ वर्षको उमेर हुँदा नै सर्ट स्टोरी लेख्ने क्रमलाई निरन्तरता दिएकी थिइन् । त्यसबेला उनले सर्ट स्टोरी ‘सेभेन कर्स्ड डायमन्ड’ लेखेकी थिइन् ।

जब उनी लेखनमा परिचित भइन् त्यसपछि उनलाई विश्वभरका मिडियाले खोज्न थाले । १९९८ मा उनी मिडियामा सार्वजनिक भइन् । तर पुस्तकमा उनले प्रयोग गरेको निकनेमको विषयलाई लिएर उनको व्यक्तिगत विषयमा पनि टिप्पणी हुन थाल्यो । यससँगै उनको प्रसिद्धि पनि बढिरहेको थियो ।

रोलिङले २००१ मा एक चिकित्सक निल मुर्रेको साथ दोस्रो पटक विवाह गरिन् । २००३ मा उनीहरुले एक छोरा जन्माए । उनको नाम डेभिड गोर्डोन रोलिङ मुर्रे हो । २००५ मा भने छोरी म्याकेन्जी जिन रोलिङ मुर्रे जन्मिइन् ।

२००४ मा अमेरिकी प्रसिद्ध बिजनेस म्यागजिन फोर्ब्सले जेके रोलिङको नाम ‘पहिलो डलर अर्बपति लेखिका’को रुपमा सार्वजनिक गरेको थियो । यद्यपि २००५ को एक अन्तर्वार्तामा उनले आफू डलर बिलिनीयर नभएको बताएकी थिइन् । तर २००८ मा उनी लेखेरै सबैभन्दा धेरै कमाउने लेखिका बनिसकेकी थिइन् ।

२०२१ मा सन्डे टाइम्सको रिच लिस्टमा उनको नाम सूचीकृत गरिएको थियो । जहाँ उनको सम्पत्ति ८२ लाख पाउन्ड स्टर्लिङ रहेको देखाइएको थियो । साथै बेलायतको १९६औं धनी व्यक्तिको रुपमा उनको नाम राखिएको थियो । २०२० मा उनले ४० लाख ५० हजार पाउन्डमा एउटा घर र २० लाख पाउन्डमा अर्को घर खरिद गरेकी थिइन् । यद्यपि यसबीचमा उनले आफ्नो सम्पत्तिको ठूलो रकम दान वा सहयोग गरेरै खर्च गरेकी छन् । यसले पनि उनको अनुमानित सम्पत्तिभन्दा कम भएको कतिपयको दाबी छ ।

एजेन्सी

Comments

Back to top