विद्युतीय गाडीको अतिरिक्त कर बारे ईयू र चीनबीच वार्ता शुरु

युरोपेली सङ्घ (ईयू) र चीनबीच विद्युतीय कारमा लगाइएको अतिरित्त करबारे छलफल शुरु भएको छ । चिनियाँ विद्युतीय कारमा कर वृद्धि गर्ने ब्रसेल्सको योजनाबारे ईयू र चीनका व्यापार प्रमुखबीच छलफल शुरु भएको एएफपीले जनाएको छ । यसअघि ईयूले अर्को महिना जुलाईदेखि चिनियाँ विद्युतीय कार आयातमा ३८ प्रतिशतसम्म अतिरिक्त कर लगाउने घोषणा गरेको थियो ।

चीन र युरोपेली सङ्घ (ईयू) ले बर्सेनि अर्बौ डलरको व्यापार गर्ने गरेका छन् । पछिल्लो समय ईयूले चीनबाट आउने विद्युतीय कारमा अतिरिक्त महसुल लगाउने प्रस्ताव गरेपछि चीनले त्यसको प्रतिकार गर्ने र दुई पक्षबिच व्यापार युद्ध भड्किने स्थिति उत्पन्न भएको थियो ।

चीनका वाणिज्य मन्त्री वाङ वेन्ताओ र ईयूका व्यापार आयुक्त भाल्दिस डम्ब्रोभ्स्कीसले चीनबाट आयातित विद्युतीय गाडीमा अतिरिक्त महसुल लगाउने ईयूको योजनाबारे वार्ता गर्ने चीनको वाणिज्य मन्त्रालयले जनाएको हो । युरोपेली आयोगले चीनबाट आयात गर्ने विद्युतीय कारमा अहिलेको विद्यमान १० प्रतिशत करमाथि अर्को ३८ प्रतिशतसम्म अतिरिक्त महसुल थप्ने प्रस्ताव गरेका थिए ।

एजेन्सी

Comments

Back to top