दैनिक आलु खाए के हुन्छ ?

आलुलाई तरकारीको राजा भनिन्छ । हरेक तरकारीमा आलु हालिन्छ ।

आलुकै अचार, भुटेको आलु, पोलेको आलु । आलुकै परौठा, आलुकै तरकारी । बाहिर खान जाँदा पनि धेरैजसो भेज मेनुमा आलु नै हुन्छ । आलुमा उच्च मात्रामा कार्बोहाइड्रेट्स पाइन्छ । मधुमेहका रोगी लागि त आलु हानिकारक पनि छ । दिनहुँ आलु खाँदा के हुन्छ ? के यसले हाम्रो शरीरमा ठुलै क्षति गराउँछ ?

आलुमा पाइन्छ यी पोषक तत्त्व

सबैभन्दा पहिले कुरा गरौँ आलुमा के–कस्ता पौष्टिक तत्त्व पाइन्छ भनेर । १०० ग्राम आलुमा ७७ प्रतिशत पानी हुन्छ । यसका साथै यसमा १ दशमलव ९ ग्राम प्रोटिन, २० दशमलव १ ग्राम कार्बोहाइड्रेट, ० दशमलव ९ ग्राम चिनी, १ दशमलव ८ ग्राम फाइबर र ० दशमलव १ ग्राम फ्याट पाइन्छ । सय ग्राम आलु खानुभयो भने तपाईँले ८७ क्यालोरी पाउनु हुन्छ । यस बाहेक पनि आलुमा पोटासियम, भिटामिन बी६, भिटामिन सी र फोलेट जस्ता तत्त्व पनि पाइन्छ । यसरी हेर्दा, आलु आहारको पूर्ण प्याकेज हो ।

दैनिक आलु खाँदा शरीरमा कस्तो असर पर्छ ?

आलु पोषक तत्त्वले भरिपूर्ण हुन्छ । यसमा दुई मत छैन । हरेक नेपालीको घरमा आलु दैनिक रूपमा तरकारीको हिस्सा हुन्छ । आलु दिनहुँ खाँदा शरीरलाई कति हानि र फाइदा पुर्‍याउँछ भन्ने कुरा आलुलाई कसरी खाने भन्नेमा भर पर्छ । आलुलाई तेलमा तारेर, धेरै बेर पकाएर खाँदा पक्कै पनि हानी हुन्छ । तर यदि तपाई स्वस्थ हुनुहुन्छ, मोटोपना वा मधुमेहका रोग लागेको छैन भने सीमित मात्रामा आलु खाँदा खासै हानी हुन्न ।

के यसले तौल बढाउँछ ?

धेरै आलु खाँदा तौल त बढ्ने पक्का छ । विशेषगरी जब आलुलाई तेलमा डिप फ्राई गरेर वा भुटेर खाइन्छ, यस्तो आलुले तौल बढाउँछ । आलुमा क्यालोरी धेरै हुन्छ । आलुलाई डिप फ्राई गरेर खाँदा त्यसमा अस्वस्थकर चिल्लोको मात्रा बढ्छ । त्यसैले आलु सीमित मात्रामा खानपर्छ । दैनिक रूपमा डिप फ्राई नगरीकन २५–५० ग्राम आलु खानु हुन्छ र तपाई सवस्थ हुनु हुन्छ भने यसले खासै क्षति पुर्याउँदैन । तर योभन्दा धेरै आलु खानुभयो भने हानि हुन्छ ।

के आलुले रगतमा चिनीको मात्रा बढाउँछ ?

आलुमा कार्बोहाइड्रेट त धेरै हुन्छ नै यसमा स्टार्च पनि धेरै हुन्छ । त्यसैले, साधारण आलुको तरकारी धेरै खाइयो भने पनि रगतमा चिनी बढ्छ । त्यसैले मधुमेहका बिरामीले सीमित मात्रामा मात्रै आलु खानुपर्छ । तर उनीहरूले भुटेको आलु धेरै खाए चिनी त बढ्छ नै अन्य समस्या पनि बढ्छ । धेरैजसो मधुमेहका बिरामीमा धेरै आलु खाएर रगतमा चिनीको मात्रा बढेको पाइन्छ । आलुलाई बारम्बार तार्न प्रयोग गरिने तेलमा तारेर खादा धेरै क्षति हुने डाक्टरहरू बताउँछन्। यसरी तारेको आलु खाँदा ट्रान्स फ्याट बढेर तौल र चिनी दुवै बढ्छ ।

त्यसोभए कसरी खाने आलु ?

आलुलाई सामान्य तरिकाले उसिनेर खानु उत्तम हुन्छ । तेलमा धेरै तार्नु हुन्न । तपाई मोटो हुनुहुन्छ वा मुटु सम्बन्धी समस्या छ वा मधुमेहको रोगी हुनुहुन्छ दिनहुँ कति आलु र कुन तरिकाले खाने भनेर आहार विज्ञसँग परामर्श लिन सकिन्छ । बोक्रासहितको आलु खाँदा क्षति कम हुन्छ ।

एजेन्सी

Comments

Back to top