भारतको आम निर्वाचनको जारी मत गणनामा मोदी नेतृत्वको एनडीए अगाडि
भारतको लोक सभा निर्वाचनको मत गणना जारी रहदा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको गठबन्धननै अगाडि देखिएको छ । सुरुआती रुझानमा मोदी नेतृत्वको गठबन्धन एनडीएले बहुमत सिटमा अग्रता लिएको छ । ५४३ सदस्यीय लोक सभामा बहुमतका लागि २७२ चाहिन्छ ।
बीबीसी हिन्दीका अनुसार समाचार तयार पार्दासम्म भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडीए गठबन्धनले २९९ सिटमा अग्रता लिएको छ । कांग्रेस नेतृत्वको इण्डिया गठबन्धन १ सय ९३ सिटमा अगाडि छ ।
अहिले ५४३ मध्ये ५४२ सिटको मत गणना चलिरहेको छ । सुरत लोकसभा सिटमा भाजपाका उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् । गुजरातको सूरत लोकसभा सिटबाट भाजपाका मुकेश दलाल यसअघि नै निर्विरोध निर्वाचित भएका हुन् ।
डेढ महिना लगाएर भएको आम निर्वाचनको बिहान ८ बजेबाट गणना सुरु भएको हो ।
प्रमुख निर्वाचन आयुक्त राजीव कुमारले अप्रिल १९ देखि जुन १ सम्म सात चरणमा भएको मतदानमा देशका ९६ दशमलव ८ करोड दर्ता भएका मतदातामध्ये ६४ दशमलव २ करोड मतदाताले आफ्नो मताधिकार प्रयोग गरेको बताए ।
१७ औं लोकसभाको समयावधी आगामी जुन १६ मा पुरा हुदैछ ।
एजेन्सी।
Comments