भारतमा लोकसभा चुनावको मतगणना आजदेखि
भारतमा ६ हप्ता लगाएर सात चरणमा भएको लोकसभा चुनाव २०२४ को मतगणना आज शुरु हुँदैछ । भारतीय निर्वाचन आयोगकाअनुसार ५ सय ४३ लोकसभा सिटमध्ये ५ सय ४२ सिटको मतगणना आज बिहान ८ बजेदेखि शुरु हुनेछ । गुजरातको सूरत लोकसभा सिटबाट भाजपाका मुकेश दलाल यसअघि नै निर्विरोध निर्वाचित भइसक्नुभएको बीबीसी हिन्दीले जनाएको छ ।
त्यहाँ कांग्रेस उम्मेदवारको उम्मेदवारी रद्द भएपछि बाँकी स्वतन्त्र उम्मेदवारहरूले आफ्नो नाम फिर्ता लिएका थिए । नियमअनुसार आज शुरुमा हुलाक मतपत्रको मतगणना हुनेछ त्यसपछि इभिएम अर्थात इलेक्ट्रोनिक भोटिङ मेसिनमा खसेको मत गणना हुनेछ ।
कुनै पनि केन्द्रमा मतपत्र नभएको खण्डमा सिधै इभिएमबाट मतगणना शुरु हुनेछ । प्रमुख निर्वाचन आयुक्त राजीव कुमारले अप्रिल १९ देखि जुन १ सम्म सात चरणमा भएको मतदानमा देशका ९६ दशमलव ८ करोड दर्ता भएका मतदातामध्ये ६४ दशमलव २ करोड मतदाताले आफ्नो मताधिकार प्रयोग गरेको जानकारी दिए।
एजेन्सी
Comments