ललितपुरकाे गाेदावरीका मेयरसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित नौ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए । मेयर महर्जन, उपमेयर मुना अधिकारीसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, नगरपालिकाका तत्कालीन राजस्व शाखा प्रमुख र पाँच वटा कम्पनीसहित ती कम्पनीका सञ्चालकलाई विपक्षी बनाएर भ्रष्टाचारसम्बन्धी पाँच वटा छुट्टाछुट्टै मुद्दा दर्ता भएका छन् ।

गोदावरी नगरपालिकाको ढुङ्गा–गिट्टी बिक्री/वितरण गर्दा सरकारी दर/रेटभन्दा कम गरी सरकारलाई हानी/नोक्सानी पुर्‍याएको उनीहरूमाथि आरोप छ । अख्तियारले ठेक्का लगाउँदा प्रदेश आर्थिक ऐनअनुसार राजस्व दरभन्दा कममा असुल गरी प्रदेश र पालिका सरकारलाई नोक्सानी पुर्‍याएकाे दाबी गरेको छ ।

आर्थिक वर्ष २०७५/०७६ देखि २०७९/०८० को अवधिमा खानीजन्य ढुङ्गा/गिट्टी र बालुवाको टेन्डर लगाउँदा सरकारी दरभन्दा कम गरी एक अर्ब चार करोड ८७ लाख ४५ हजार दुई सय ८७ रुपैयाँ हानी/नोक्सानी पुर्‍याएकाे ठहर भएको अख्तियारले जनाएको छ ।

एजेन्सी

Comments

Back to top