इजरायलका नागरिकमाथि माल्दिभ्सले लगायो प्रतिबन्ध
माल्दिभ्सले इजरायलका नागरिकमाथि प्रतिबन्ध लगाएको छ। राष्ट्रपति मोहम्मद मोइज्जूले इजरायली राहदानी भएकाहरूलाई प्रतिबन्ध लगाउने घोषणा गरेका छन् ।
गाजामा भएको आक्रमणको विरोधमा माल्दिभ्सले इजरायली नागरिकमाथि प्रतिबन्ध लगाएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । तर यो नयाँ ऐन कहिलेदेखि लागू हुने भन्नेबारे राष्ट्रपति कार्यालयले जानकारी दिएको छैन ।
सोही क्रममा राष्ट्रपतिले प्यालेस्टाइनीहरूलाई सहयोग गर्न पैसा सङ्कलन गर्न सकिने ‘माल्दिभ्स इन सोलिडारिटी विथ प्यालेस्टाइन’ नामक अभियान पनि शुरु गरेका छन् । तर यो प्रतिबन्धपछि इजरायलले आफ्ना नागरिकहरूलाई माल्दिभ्स नजान चेतावनी पनि दिएको छ ।
राष्ट्रपति मोइज्जुले विपक्षी र सरकारी सहयोगीहरूको दबाबबीच यो कदम चालेका हुन् । इजरायली हमलामा गाजामा हजारौं सर्वसाधारण मारिएपछि विपक्षी र सहयोगीहरूले मालदिभ्सबाट इजरायलीहरूलाई प्रतिबन्ध लगाउन आह्वान गरेका छन् ।
यसैबीच इजरायलको विदेश मन्त्रालयले आफ्ना नागरिकलाई माल्दिभ्स नजान आग्रह गर्दै माल्दिभ्समा रहेका इजरायली नागरिकलाई देश छाड्न चेतावनी दिएको छ ।
माल्दिभ्समा बसोबास गर्ने इजरायली नागरिकहरूलाई कुनै कारणले समस्या परेमा उनीहरूलाई मद्दत गर्न गाह्रो हुने भएकाले देश छोड्ने विचार गर्न सल्लाह दिएको छ ।
माल्दिभ्स–इजरायल सम्बन्धलाई सामान्य बनाउने प्रयास २०१२ मा समाप्त भएको थियो ।
एजेन्सी
Comments