डाटा सेन्टर र गुगल क्लाउड 'हब' बनाउन गुगलले मलेसियामा २ अर्ब डलर लगानी गर्ने

गुगलले मलेसियामा २ अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ । दक्षिणपूर्वी एसियाली देश मलेसियामा पहिलो ठूलो डाटा सेन्टर र गुगल क्लाउड हबको विकासका लागि अमेरिकी प्रविधि कम्पनी गुगलले २ अर्ब डलर लगानी गर्ने भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

यसअघि माइक्रोसफ्टले पनि मलेसियाको न्यु क्लाउड र आर्टिफिसियल इन्टेलिजेन्स पूर्वाधार निर्माणमा आउँदो चार वर्षमा २ अर्ब २० करोड डलर खर्च गर्ने घोषणा गरिसकेको छ ।

मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले गुगलको लगानीलाई मलेसियाको शासन र अर्थतन्त्रमा विश्वासको सङ्केतको रूपमा प्रशंसा गरेका छन् । अनवरले गुगल र माइक्रोसफ्टको लगानीले देशको अर्थतन्त्रमा ३ अर्ब २० करोड डलर थप गर्ने र सन् २०३० सम्ममा २६ हजार ५ सय रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको पनि बताएका छन् ।

गुगलले एक विज्ञप्ति निकालेर मलेसियाको सेलाङ्गोर राज्यको एक बिजनेस पार्कमा नयाँ डाटा सेन्टर र क्लाउ हबको विकास गरिने बताएकाे छ । गुगल डाटा सेन्टर स्थापना गर्ने मलेसिया १२ औँ देश हुनेछ ।

एजेन्सी

Comments

Back to top