उपनिर्वाचनमा आजदेखि मौन अवधि सुरु, प्रचारप्रसार गरे कारबाही हुने

उपनिर्वाचनमा आजदेखि मौन अवधि सुरु भएको छ ।

इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका लागि राति १२ बजेदेखि मौन अवधि सुरु भएको हो । मौन अवधिमा प्रचारप्रसार गर्न निषेध गरिएको छ । मतदान हुने दिनभन्दा ४८ घण्टाअघि देखि मौनअवधि सुरु हुने गर्छ ।

वैशाख १५ गते उपनिर्वाचनका लागि मतदान हुँदैछ ।

मतगणनाको कार्य सम्पन्न नभएसम्म मौन अवधि जारी रहनेछ । निर्वाचन आयोगले यस अवधिमा सम्बन्धित जिल्लामा आचारसंहिता प्रतिकूल हुने गतिविधिको निगरानी तथा नियन्त्रणका लागि सूक्ष्म अनुगमन गरी आचारसंहिता पालना गराउने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आचारसंहिताबमोजिम प्रचारप्रसार निषेधको अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठीलगायत गर्न तथा उम्मेदवारको पक्ष या विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, एसएमएस, फेसबुक भाइबरजस्ता विद्युतीय माध्यम तथा सामजिक सञ्जालबाट समेत मत माग्न निषेध गरिएको छ ।

एजेन्सी

Comments

Back to top