कार र स्मार्टवाच डिस्प्ले प्रोजेक्ट बन्द गरेपछि एप्पलद्वारा ६ सयभन्दा बढी कर्मचारी बर्खास्त
अमेरिकी कम्पनी एप्पलले कार र स्मार्टवाच डिस्प्ले प्रोजेक्ट बन्द गरेपछि आफ्ना ६ सयभन्दा बढी कर्मचारीलाई बर्खास्त गरेको छ । एप्पलले क्यालिफोर्नियाको रोजगार विकास विभागलाई दिएको प्रतिवेदनमा यसबारे जानकारी गराएको ब्लूमबर्गले जनाएको छ ।
प्रतिवेदनका अनुसार कम्पनीले नेक्स्ट जेनेरेशन स्क्रिन डेभलपमेन्ट प्रोग्राममा गोप्य स्थानमा काम गर्ने ८७ जना र कम्पनीको कार परियोजनामा संलग्न व्यक्तिलाई बर्खास्त गरेको हो ।
क्यालिफोर्नियाको सान्ता क्लारामा रहेको एप्पलको मुख्य कारसँग सम्बन्धित कार्यालयमा रहेका ३७१ कर्मचारीबाहेक अन्य धेरै स्याटेलाइट अफिसमा कर्मचारीलाई निकालिएको रिपोर्टमा उल्लेख गरिएको छ । कम्पनीको आर्टिफिसियल इन्टेलिजेन्स र पर्सनल रोबोटिक्स विभागमा धेरै व्यक्तिलाई सरुवा गरिएको छ । यी आयोजनाहरु बन्द हुँदा करिब २ हजार कर्मचारी प्रभावित भएको बताइएको छ ।
एप्पलले गत दशकमा अर्बौं डलर लगानी गरेको कार प्रोजेक्ट हालै बन्द गरेको छ । एजेन्सी
Comments