रूसको वैदेशिक व्यापारमा गिरावट

 रुसको वैदेशिक व्यापारमा गिरावट आएको छ । रुसको संघीय भन्सार सेवा कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२३ मा निर्यात घटेको छ भने आयात बढेको छ ।

देशको कुल निर्यात २८ दशमलव तीन प्रतिशतले घटेर चार खर्ब २५ अर्ब डलरमा झरेको छ भने आयात ११ दशमलव सात प्रतिशतले बढेर दुई खर्ब ८५ अर्ब डलर पुगेको छ । युरोपेली मुलुकहरुसँगको निर्यात व्यापारमा रुसलाई नराम्रो धक्का लागेको छ । रुसबाट युरोपेली देशहरूमा निर्यात ६८ प्रतिशतले घटेर करिब ८५ अर्ब डलरमा झरेको छ भने आयात १२ दशमलव तीन प्रतिशतले घटेर साढे ७८ अर्ब डलरमा झरेको छ ।

एसियाली देशहरुमा भने रुसको व्यापार बढेको छ । एसियाली देशहरूमा रुसले निर्यात पाँच दशमलव छ प्रतिशत बढाएर तीन खर्ब छ अर्ब डलर पु¥याएको छ। यस्तै एसियाली देशहरुबाट आयात २९ दशमलव दुई प्रतिशतले बढेर एक खर्ब ८७ अर्ब डलर पुगेको भन्सार सेवा कार्यालयले उल्लेख गरेको छ । एसियासँगै अफ्रिकी देशहरूसँगको व्यापार पनि बढेको छ ।

अफ्रिकी मुलुकहरुसँग रुसको निर्यात ४२ दशमलव नौ प्रतिशत र आयात आठ दशमलव छ प्रतिशतले बढेको छ । वैदेशिक व्यापार बचत वार्षिक ५८ दशमलव पाँच प्रतिशतले घटेर एक खर्ब ४० अर्ब अमेरिकी डलरमा झरेको छ ।

Comments

Back to top