चीन र भारतले रुसबाट तेलकाे आयात बढाए
रुसले पश्चिमा देशहरूको प्रतिबन्धका बीच तेल र ग्यासको राजस्व सन् २०२१ अघिकै अवस्थामा पुगेको बताएको छ ।
सन् २०२१ मा रुसले युक्रेनमाथि आक्रमण शुरु गरेपछि अमेरिका र युरोपेली देशहरूले रुसी तेल र ग्यासमाथि प्रतिबन्ध लगाएका थिए । त्यसको असर सन् २०२२ मा देखिएको भए पनि सन् २०२३ मा सन् २०२१ अघिकै अवस्थामा राजस्व प्राप्त भएको रुसी उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले बताएको एएफपीले जनाएको छ ।
सन् २०२३ मा रुसले तेल र ग्यासबाट ९८ अर्ब अमेरिकी डलर प्राप्त गरेको छ । यो कुल गार्हस्थ्य उत्पादनको २७ प्रतिशत हो । रुसी तेल र ग्यासको निर्यात बढ्नुमा चीन र भारतले रुसबाट तेलको आयात बढाउनु हो ।
यसअघि रुसबाट तेल आयात नै नगर्ने भारतले आफूले आयात गर्ने तेलको ४० प्रतिशत रुसबाट आयात गर्न थालेको छ । भारतले रुसबाट कच्चा तेल आयात गरेर प्रशोधन गरेको तेल युरोपमा समेत पठाउन थालेको छ। यस्तै चीनले रुसबाट तेलको आयात ५० प्रतिशतसम्म बढाएको छ ।
उपप्रधानमन्त्री नोभाकले सन् २०२३ मा धेरै प्रतिबन्ध लागे पनि रुसी ऊर्जा उद्योगको सफलतापूर्वक विकास भएको बताए ।
Comments