पटक पटक असफल हुँदा पनि उत्साह नगुमाउनु नै सफलता हो : भलिबल खेलाडी रेश्मा भण्डारी
सन् २०१९ नेपाली महिला भलिबल टोलीका लागि विशेष रह्यो । साफ गेम खेल्दै फाइनल पुगेको नेपाली महिला भलिबल टोलीले इतिहास रच्दै रजत पदक मात्रै जितेन स्वर्ण पदकको लागि बलियो दाबेदारी पनि प्रस्तुत गर्यो। अझ भनौं आफ्नै ‘होम ग्राउन्ड’ मा खेलेको नेपाली टोलीले बलियो प्रतिद्वन्द्वी भारतको स्वर्ण पदक यात्रालाई एकदम कठिन बनाइदियो।
फाइनलमा नेपाल, नेपाल भन्ने हजारौं स्वरहरुले नेपाली टोलीको दोश्रो र तेश्रो सेटको पर्दशन सायद कहिल्यै भुल्ने छैनन्। त्यसो त अन्य सेटमा पनि पर्दशन खराब भएको भने होइन। खाली त्यो स्तरलाई कायम राख्न नसक्दा स्वर्ण पदक गुमेको हो। यहि गेमले नेपाली चेलीहरु कति तगडा छन् र अबसर पाए कतिसम्म गर्न सक्छन् भनेर प्रमाणित गरिदिएको छ। सोही गेममा ८ नम्बर जर्सी लगाएर खेलेकी नेपाली महिला भलिबल टोलीकि अलराउण्ड स्पाइकर हुन रेश्मा भण्डारी ।
काठमाडौंकि २६ बर्षिय रेश्मा भन्डारी हाल बिभागिय टोली एपिएफबाट भलिबल खेल्छिन्। भलिबल खेलेरै आफ्नो करियर बनाएकी उनको यो सफलताको यात्रा जति रोचक छ त्यतिनै यसले छोरी मान्छेले खेल्नुहुन्न भन्ने सोच राख्ने कतिपय व्यक्तीलाई खुला चुनौति दिएको छ । स्नातक तह द्वितीय बर्ष पढ्दै गर्दा करियरकै लागि पढाई त्यागेकी उनी भलिबल प्रतिनै समर्पित भएर लागेको १३ बर्ष भयो।
सानोमा फुटबल बाहेक अरु गेमहरु पनि हुन्छ भन्ने थाहा नभएकी रेश्माले प्रक्षिक्षक कुमार राइले ब्राइट फ्युचर स्कुलमा सुरु गरेको भलिबल टिमबाट पहिलो चोटि बल समातेकी हुन् । त्यतिबेला टिमपनि सायद राम्रोसँग बनेको थिएन होला भन्दै उनी भन्छिन्, ‘त्यसपछि सरले न्यु डायमण्ड एकेडेमी सुरु गर्नुभयो र त्यहाँ सिकाउन थाल्नुभयो ।‘
सुरुमा के का लागि खेल्दैछु र किन खेल्ने भन्ने उदेश्य नभएपनि रमाइलोका लागि भलिबल खेलेको उनको भनाइ छ । अलि ठूलो भएर अब खेल्ने भनेर तालिम सुरु गरेपछि भने हात सुन्निने, ज्यान दुख्ने हुँदा उनलाई बहुत गाह्रो हुन्थ्यो। बिस्तारै ती कठिनाइहरु पार गर्दै अघि बढेकी उनलाइ कक्षा ६ पढ्दादेखि अन्तर विद्यालय प्रतियोगिताहरुमा भाग लिन थालेको र त्यतिबेला सर्भिस पनि कटाउन नसकेको अझै स्मरण छ।
त्यसको एक बर्षपछि एउटा प्रतियोगितामा दोस्रो स्थान हासिल गर्दा भने उनी र उनको टिम सार्है उत्साहित भएका थिए। त्यसपछि भने ‘न्यु डायमण्ड टिमले’ प्राय सबै अन्तर विद्याललय प्रतियोगिता आफ्नै पोल्टामा पार्न सफल भयो।
अलिअली दुख नभएको जीवन त कसैको पनि हुदैन भन्ने सोच राख्ने रेश्मा आफ्ना दुखहरु त्यती धेरै नभएको बताउछिन् । आएका दुःखका क्षणहरु पनि परिवार सबै काठमाडौंमै हुँदा सहज भएको उनको भनाइ छ । उनका अनुसार आफ्नो परिवारसँग हुँदा व्यक्तिको आधा दुःख कम हुन्छ। तर आफ्नै टिमका साथीहरु जो बाहिरबाट परिवारसँग बिछडिएर आएका छन् उनीहरुले आफ्नो भन्दा धेरै दुःख गर्ने गरेको उनको बुझाइ छ।
राष्ट्रिय टिममा प्रबेश गर्ने समयमा छनोटको ठिक अगाडी उनको खुट्टामा भएको इन्जुरिले केही समस्या ल्याएपनि त्यो सँग जुध्दै उनी राष्ट्रिय टिममा छनोट भएकी हुन् । आफ्नो बितेको जीवनलाई फर्केर हेर्दा ती दुख देख्नुहुन्छ कि नाइँ ? भन्ने हाम्रो प्रश्नमा दुःख मात्रै सम्झिएर बसे प्रगती नहुने बताउदै उनी आजसम्म भलिबल खेल्नु बाहेक अरु केही नगरेकाले बितेको जीवन फर्केर हेर्दा पनि भलिबल मात्रै देख्ने गरेको बताउँछिन् ।
टिममा खेलिने खेल भएको हुँदा कोरोना र लकडाउनले आफूहरुलाइ धेरै असर गरेको रेश्माको भनाइ छ। उनी भन्छिन्, ‘त्यो समयमा घरमै बस्नुपरेको हुँदा वेट्गेन भएर फिट्नेसमा समस्या त देखियो नै घरमा एक्लै प्राक्टिस गर्दा एकछिन गरेपछि थाकिने र रेस्ट गर्न मन लाग्ने भयो ।’ अहिले भने सधै कोरोना भनेर बसेर सम्भव नहुने हुँदा आफूहरुले फेरि ट्रेनिङ सुरु गरेको उनले बताइन् ।
नबनियुक्त खेलकुद मन्त्रीले भलिबलको विकासका लागि के गर्नुपर्ला ? भन्ने मोटिभेट न्युजको प्रश्नमा रेश्मा भन्छिन्, ‘भलिबलको आफ्नै कभर्डहल बनाउने, प्रदेश प्रदेशमा मिनि कभर्डहल बनाउने र तालिम प्राप्त कोचहरु पुर्याउने पहिलो प्राथमिकता हुनुपर्छ । त्यसबाहेक हामी सबै मिलेर धेरै भन्दा धेरै गेमहरु आयोजना गर्नुपर्छ ।’
उनी आम नेपाली अभिभावकहरुलाई खेलले मानिसलाई स्वस्थ बनाउनुका साथै पछिल्लो समय भबिस्य पनि उज्जवल बन्दै गएकाले छोरिहरुलाई पनि खेलको वातावरण मिलाउन आग्रह गर्छिन् ।
Comments