श्रीलंकाका विदेशमन्त्री आज नेपाल आउँदै

श्रीलंकाका विदेशमन्त्री अली साब्री आज नेपाल आउदै छन् । नेपाल–श्रीलङ्का संयुक्त आयोगको बैठकमा सहभागी हुन मन्त्री साब्री काठमाडौँ आउन लागेका हुन् ।
परराष्ट्रमन्त्री एनपी साउदको औपचारिक निमन्त्रणामा उनी तीन दिने नेपाल भ्रमणमा आउन लागेका हुन् । संयुक्त आयोगको उद्घाटन सत्रमा सहभागी हुन विदेशमन्त्री साब्री नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

संयुक्त आयोगको बैठकमा व्यापार तथा लगानी, पर्यटन, शिक्षा, रक्षा, संस्कृति, जनस्तरको सम्पर्क एवं कनेक्टिभिटीलगायत दुई देशका द्विपक्षीय सहकार्यका विषयमा छलफल हुने बताइएको छ ।

बैठकपछि विज्ञान, प्रविधि तथा अन्वेषणका क्षेत्रमा सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षरसमेत हुने छ । श्रीलंकाली विदेशमन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गर्नेछन् । उनी तीन दिने भ्रमण सकेर शुक्रबार स्वदेश फर्किने कार्यतालिका छ ।

 

Comments

Back to top