लाल सागरमा पानीजहाजमाथि हुथी विद्रोहीको आक्रमण

यमनमा हुथी विद्रोहीको नियन्त्रणमा भएको एक क्षेत्रबाट लाल सागरस्थित एक कार्गो जहाजमा आक्रमण भएको छ।

सो प्रहारले जहाजमा पुर्याएको क्षतिबारे थप जानकारी प्राप्त नभएपनि डेकमा आगोलागी भएको बीबीसीले उल्लेख गरेको छ।

इरानले समर्थन गर्ने हुथीले लाल सागरमा जहाजहरुमा नियमित आक्रमण गर्दै आएको छ। इजरायल–हमासबीचको युद्ध सुरु भएदेखि नै प्यालेस्टाइनलाई समर्थन गर्न हुथीले आक्रमण बढाएको छ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले आक्रमणको बारेमा जानकारी गराउँदै तेल अवीवमा पत्रकार सम्मेलन गरेका थिए।

उनले हुथी विद्रोहीको आक्रमणले व्यावसायिक ढुवानीमाथि जहाजको स्वतन्त्र नेभिगेसनमाथि खतरा उत्पन्न भएको जानकारी गराए। सो खतरासँग जुध्नको लागि अन्तर्राष्ट्रिय साझेदार पनि लागि परेको उनले बताए।

अमेरिकी, फ्रान्सेली र बेलायती युद्ध जहाजहरुले आक्रमण भएको क्षेत्रमा गस्ती बढाएको छ। जाहाजमा निशाना लगाएका केही मिसाइलहरुलाई ध्वस्त गरेको छ।

Comments

Back to top