हमास- इजरेलसँग कामकाजी सम्बन्ध भएको रुसले गर्‍यो युद्ध अन्त्य गर्न गुटेरेससँग आह्वान

रुसी विदेशमन्त्री सर्गेई लाभारोभले बुधबार इजरेल र प्यालेस्टिनीहरूबीचको युद्धको दिगो समाधान खोज्न अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग आह्वान गरेका छन् । 

मस्कोले बारम्बार प्यालेस्टिनी राज्य निर्माणको आह्वान गरेको छ र उसको हमास तथा इजरेल दुवैसँग कामकाजी सम्बन्ध छ । मस्कोले हमासलाई आतङ्कवादी सङ्गठनको मान्यता दिएको छैन । 

रुसी विदेशमन्त्री लाभारोभले रुसी सिनेटरहरूसँग भने, “यो समस्याको सदाका लागि समाधान गर्ने र न्यायसङ्गत तरिकाले समाधान गर्ने एक मात्र तरिका भनेको संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्का सबै पाँच स्थायी सदस्यसँग एउटा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्नु हो ।”

मन्त्री लाभारोभले अक्टोबरमा इजरेलमा अभूतपूर्व आक्रमण गर्दा हमासले बन्धक बनाएका बन्धकहरूको रिहाइका लागि मस्कोले आफ्नो शक्तिका साथ सबै गरिरहेको पनि स्पष्ट गरे । 

हमासले हालैका सातामा तीन रुसी नागरिकलाई रिहा गरेको छ । उक्त रिहाइ इजरेलसँग हमासले गरेको सम्झौताअनुसार रिहाइ गर्नुपर्ने बन्धकहरूको सूचीबाट बाहिर थियो । 

Comments

Back to top