कक्षा १२ सम्मको शिक्षा नि:शुल्क गर्ने तयारीमा सरकार
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कक्षा १२ सम्मको शिक्षा नि:शुल्क गर्ने तयारीमा सरकार रहेको बताएका छन् । सिन्धुपाल्चोकको चौतारा–८ स्थित इर्खु माध्यमिक विद्यालयको ६४औँ वार्षिकोत्सव तथा २४औँ अभिभावक भेलालाई सम्बोधन गर्दै मंगलबार उनले यस्तो बताएका हुन् ।
आर्थिक अभावमा कुनै पनि विद्यार्थी पढ्नबाट वञ्चित हुने अवस्था नआओस् भनेर कक्षा १२ सम्मको शिक्षा नि:शुल्क गर्ने सोचमा सरकार रहेको भन्दै मन्त्री बस्नेतले भने, ‘१२ कक्षासम्म नि:शुल्क पठनपाठनको व्यवस्था गर्ने तयारीमा सरकार रहेको छ । त्यसको घोषणा चाँडै हुनेछ ।’
त्यस्तै, उनले चिकित्सा शिक्षालाई सबैको पहुँचमा पुर्याउने अभियानमा आफू लागेको र तीन सय शय्या भएको अस्पतालमा नर्सिङ, तीन सयभन्दा माथिका अस्पतालमा चिकित्सा शिक्षा अध्यापनको अनुमति दिइने बताएका छन् ।
Comments