रुसी सेनामा भर्ती हुने नेपालीको सङ्ख्या दुई सय जना रहेको जानकारी आएको छः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा भर्ती हुने नेपालीको सङ्ख्या दुई सय जना रहेको औपचारिक जानकारी आएको बताएका छन् ।

सोमवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकमा प्रधानमन्त्री प्रचण्डले कोही भिजिट भिसा, कोही अध्ययन भिसामा रुसमा पुगेका २ सय जना नेपाली रुसी सेनामा भर्ती भएको जानकारी पाएको र अहिले उनीहरूको अध्ययन र खोजी भइरहेको बताए । उनले इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणमा बेपत्ता भएका विपिन जोशीको फिर्तीका लागि अन्तिम प्रक्रियातिर बढिरहेको पनि उल्लेख गरे।

उनले भने , ‘रुसी सेनामा दुई सय जना नेपाली भर्ना भएको औपचारिक जानकारी आएको छ । उनीहरूको अध्ययन, खोजी भइरहेको छ । कोही पढ्नका लागि, कोही भिजिट भिसामा गएका नेपाली रुसी सेनामा भर्ती भएका रहेछन् । रुसी सेनामा भर्ती भएका नेपाली केही युक्रेनको कब्जामा रहेका र केही युक्रेनी सेनाको कब्जामा रहेका जानकारी आएको छ।’

 

Comments

Back to top