इजरायली मन्त्रीका छोरा गाजा युद्धमा मारिए

इजरायली मन्त्रीका छोरा गाजामा युद्धका क्रममा मारिएका छन् । इजरायली सेनाका पूर्वप्रमुखसमेत रहेका गाडी आइजनकोटका छोरा मेजर गाल आइजनकोट बिहीबार हमाससँगको लडाइँका क्रममा गाजामा मारिएका हुन् ।

सन् २०१५ देखि २०१९ सम्म इजरायली सेनाका प्रमुख रहेका गाडी आइजनकोट नेतान्याहु नेतृत्वको वर्तमान आपत्कालीन सरकारमा मन्त्रीसमेत रहेका छन् । अक्टोबर ७ मा हमासको आक्रमणपछि उनलाई मन्त्री बनाइएको हो ।

इजरायली सञ्चारमाध्यमहरूका अनुसार मेजर गाल आइजनकोट सुरुङमा विस्फोट हुँदा मारिएका हुन् । प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले गाल एक ‘साहसिक योद्धा’ भएको प्रतिक्रिया दिएको छ । गालको निधनले आफू विक्षिप्त भएको समेत उनको भनाइ छ । उनले भनेका छन्, ‘हाम्रा योद्धाहरूको सहादत त्यसै खेर जाने छैन, विजय प्राप्त नभएसम्म हामी लडिरहने छौँ।’

सीएनएनका अनुसार २५ वर्षीय गाल आइजनकोट ५५१औं रिजर्भ कमान्डो ब्रिगेडको ६९९औं बटालिएनका सिपाही थिए । अक्टोबर ७ यता ८८ जना इजरायली सैनिकको मृत्यु भएको इजरायली डिफेन्स फोर्स(आईडीएफ) जनाएको छ ।

Comments

Back to top