युगाण्डाले पहिलो पटक टी–२० विश्वकप खेल्ने, जिम्बावे बाहिरियो
छ पटकको टी–२० विश्वकप क्रिकेट खेलेको जिम्बावे सन् २०२४ मा भने नदेखिने भएको छ । हालै भारतमा भएको विश्वकप एक दिवसीयमा पनि छानिन असफल जिम्बाब्वे टी–२० विश्वकपमा पनि छानिन असफल भएको हो ।
अफ्रिकी समूहबाट छनोट चरण खेलेका सातमध्ये दुई टिम विश्वकपमा छानिनेमा युगाण्डा र नामिबियाले बाजी मारेका छन् । युगाण्डा पहिलो पटक टी–२० विश्वकपमा छानिएको हो ।
छनोटको अन्तिम खेलमा बिहीबार रुवाण्डालाई ९ विकेटले पराजित गर्दै युगाण्डा छानिएको हो ।
रुवाण्डाले दिएको ६६ रनको लक्ष्य पछाएको युगाण्डाले ८.१ ओभरमा १ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो । यसअघि पहिला ब्याटिङ गर्दै रुवाण्डाले १८.५ ओभरमा अलआउट हुँदै ६५ रनमात्र बनाएको थियो ।
यसअघि २००७ मा टी–२० विश्वकप खेलेको केन्या पनि विश्वकपमा छनोट हुन असफल भएको छ ।
७ देशले विश्वकपको छनोटमा भाग लिएकामा रुवाण्डा, तान्जानिया, नाइजेरिया यसअघि नै बाहिरिइसकेका थिए ।
टी–२० विश्वकप सन् २०२४ मा अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा हुँदैछ ।
Comments