यी हुन् विश्वका भयानक ठूला १० विमान दुर्घटना !
टेनेराइफ एयरपोर्ट विपद
क्यानरी टापुमा भएको यो हवाई दुर्घटनालाई विश्वको उड्ययन इतिहासकै सबैभन्दा डरलाग्दो दुर्घटनाको रुपमा हेर्ने गरिएको छ । सन् १९७७ को मार्च २७ मा स्पेनको क्यानरी टापुको टेनेराइफ विमानस्थलमा दुई ओटा बोइङ् ७४७ एक आपसमा ठोक्किए । गलत सञ्चार, ढपक्कै कुहिरो, चालकको गल्ती आदिका कारण भएको सो दुर्घटनामा दुई विमानमा सवार भएका ६४४ जना मध्ये ५८३ जनाको मृत्यु भएको थियो । उपर्युक्त सञ्चार प्रोटोकल हुन सकेको भए यो घटना टार्न पनि सकिन्थ्यो ।
जापान एयरलाइन्सको बोइङ ७४७
सन् १९८५ को अगष्ट १२ मा जापानमा जापान एयरलाइन्सको फ्लाइट १२३ बोइङ ७४७ विमान गुन्मा प्रिफेक्चरको उइनोमा मेकानिकल समस्याका कारण दुर्घटना भयो । विमानको पछाडिको भाग झरेपछि विमान ताकामागाहारा हिमालमा खस्यो । यो घटनामा १५ जना क्रुमेम्बर र ५०५ यात्रुको मृत्यु भयो । यस दुर्घटनामा ४ जना भने बाँच्न सफल भएका थिए ।
साउदी अरेबियन एयरलाइन्स र काजकस्तान एयरलाइन्स
सन् १९६६ को नोभेम्बरमा भारतको नयाँ दिल्ली नजिकको चार्खी दादरी गाउँको आकाशमा साउदी अरेबियन एयरलाइन्सको फ्लाइट ७६३ र र काजकस्तान एयरलाइन्सको फ्लाइट १९०७ ठोक्किए । काजकस्तानका पाइलटले अंग्रेजीमा राम्ररी कुराकानी गर्न नसक्दा हवाई ट्राफिक नियन्त्रण कमान्डमा समस्या देखियो । यस घटनामा दुबै विमानमा सवार ३४९ जनाको मृत्यु भएको थियो ।
टर्किश एयरलाइन्स
सन् १९७४ को मार्च ३ मा पेरिस नजिक टर्किश एयरलाइन्सको फ्लाइट ९८१ दुर्घटनाग्रस्त भयो । यस घटनामा ३४६ जनाको मृत्यु भयो । विमानको पछाडि पट्टी रहेको कार्गो खन्डको ढोकामा डिजाइन त्रुटिका कारण सो दुर्घटना भएको थियो । कार्गो खन्डको ढोका खस्दा सो दुघर्टना निम्तियो । यो यूरोपको इतिहासको सबैभन्दा कहालिलाग्दो हवाई दुर्घटना हो । यो घटनामा विमानमा सवार सबैको मृत्यु भएको थियो ।
साउदी अरेबियन एयरलाइन्स
सन् १९८० को अगष्टमा साउदियाको फ्लाइट १६३ दर्घटना हुँदा विमानमा सवार ३०१ जनाको मृत्यु भयो । रियाद अन्तरराष्ट्रिय विमानस्थलबाट जेद्दाहको लागि उड्ने बित्तिकै विमानमा आगो लागेको थियो । चालकले तत्कालै विमानस्थलमा विमान फर्काउने निर्णय गरेपनि विमानमा आगो फैलिइसकेको थियो । एयर कन्डिशनिङ सिष्टममा त्रुटिका कारण धुँवाले निस्सासिएर विमानभित्र सवार रहेका २८७ यात्री र १४ क्रु मेम्बरको मृत्यु भएको थियो ।
अमेरिकन एयरलाइन्स
सन् १९७९ को मे २५ मा सिकागोको ओ’हारे अन्तरराष्ट्रिय विमानस्थलबाट अमेरिकन एयरलाइन्सको फ्लाइट १९१ उडेको केही मिनेटमा दूघर्टना भयो । बायाँ पंखाबाट इन्जिन निस्किँदा विमानको हाइड्रोलक प्रणाली गम्भीर क्षति पुग्यो । आगो लाग्यो, विमानमा सवार २५७ जनाकै मृत्यु भयो । उडानको ८ हप्ता अघिको विमान मर्मत प्रक्रिया राम्ररी पूरा नगरिँदा सो दूघर्टना भएको पाइएको छ । विमानका कारण जमिनमा रहेका २ जनाको पनि मृत्यु भयो । यो अमेरिकाको इतिहासको सबैभन्दा खराब विमान दूर्घटनामा पर्दछ ।
मलेशिया एयरलाइन्स
सन् २०१४ मा क्वालालम्पुरबाट पेचिङको लागि उडेको मलेशिया एयरलाइन्सको विमान बेपत्ता भयो । २३९ यात्री र क्रु मेम्बर बोकेको मलेशिया एयरलाइन्सको एमएच ३७० विमान हराएको ८ वर्ष वितिसक्दा पनि यसको अवस्था अहिलेसम्म अज्ञात नै छ ।
सो विमानबारे अनेकौं हल्ला बाहिर आउँछन् । कसैले यो अपरहण भयो भन्छन् त कसैले आतंकवादीहरूले आक्रमण गरे भन्छन् । अर्काथरीले भने मेकानिकल समस्या वा चालकको त्रुटिका कारण विमान दुर्घटना भएर बेपत्ता भएको भन्छन् । एमएच ३७० लाई के भयो भन्नेबारे ठोस प्रमाण अहिलेसम्म फेला परेको छैन ।
अमेरिकन एयरलाइन्स
सन् २००१ नेभेम्बरमा न्यूयोर्कस्थित जेएफके विमानस्थलबाट उडेको केही क्षणपछि अमेरिकन एयरलाइन्सको फ्लाइट ५८७ दुर्घटनामा पर्यो । यो घटनामा २६० जनाको निधन भएको थियो । विमान खसेर लाग्दा जमिनमा भएका अरू ५ जनाको पनि मृत्यु भएको थियो ।
शुरुमा यो आतंककारी आक्रमण हो कि भन्ने अनुमान गरिएको थियो । २००१ को सेप्टेम्बरमा अल कायदासम्बद्ध अतिवादी समूहले ४ ओटा विमान अपहरण गरेर अमेरिकामा आत्मघाती आक्रमण गराएको थियो । तर पछि त्यो दुर्घटना चालकको त्रुटिका कारण भएको पाइएको थियो । यस्तो खालको दुर्घटना दोहोरिन नदिन अमेरिकन एयरलाइन्सले आफ्नो पाइलटहरूको तालिम कार्यक्रममा नै हेरफेर गर्नु परेको थियो ।
चाइना एयरलाइन्स
सन् १९९४ को अप्रिलमा जापानको नागोया विमानस्थलमा चाइना एयरलाइन्सको फ्लाइट १४० दुर्घटना भयो । यो घटनामा विमानमा सवार भएका २७१ जनामध्ये २६४ जनाको मृत्यु भयो । यो दुर्घटना पनि चालकको गल्तिका कारण भएको थियो । पाइलटले शुरुमा झुक्किएर ल्यान्ड गर्नु अघि नै टेक अफ बटन थिचे । अटोपाइलट शुरु भएपछि गल्ती सच्याउन भ्याइएन र विमान दुर्घटना भयो ।
नाइजेरिया एयरवेज
सन् १९९१ को जुलाईमा नाइजेरिया एयरवेजको फ्लाइट २१२० साउदी अरबको जेद्दाहस्थित किंग अब्दुल्लाह इन्टरनेशनल एयरपोर्ट नजिक दुर्घटना भयो । विमानमा सबै २६१ यात्रुको यो दुर्घटनामा ज्यान गयो । विमानमा सवार अधिकांश मक्का जान हिडेका मुस्लिम तीर्थयात्री थिए । अनुसन्धानका क्रमममा टेक अफको समयमा विमानको चक्कामा समस्या आएका कारण आगो लागेको पाइएको थियो । दुर्घटनाको समयमा विमान ६७१ मिटर मात्रै माथि थियो । विमानबाट मानिसहरू खसेको देखिएको थियो ।
Comments