विश्वकै स्वच्छ हावा भएको सहर, जहाँको जनसंख्या मात्र १५०

प्रदूषणरहित सहर कसलाई मन नपर्ला र ? तर, बढ्दो जनसंख्या, अव्यवस्थित विकास निर्माण र बसोबासले विश्वका अधिकांश मुलुक प्रदूषित छन्।

हाम्रै पृथ्वीमा यस्तो सहर पनि छ जुन सहरलाई विश्वकै स्वच्छ हावा भएको सहर भनिन्छ। 

आर्कटिक महासागर छेउमा नर्वेका स–साना टापुहरू छन्। यसै टापु रहेको स्भाल्बारस्थित स्पिट्स्बर्गनको ब्रोगर्हाल्भोया प्रायःद्वीप संसारकै सबैभन्दा स्वच्छ हावा भएको सहर हो।

यो सहरको अझै रोचक विषय त के छ भने यहाँको जनसंख्या ४५ देखि १५० मात्रै हो। जाडो याममा ४५ र गर्मीयाममा १५० भन्दा बढी यहाँ बस्दैनन्। 

सहरको छेउमा ५५६ मिटर अग्लो जेपेलिन्फेलेट पर्वत छ। यसले सहरलाई अझै सुन्दर बनाएको छ। यसलाई संसारको सबैभन्दा उत्तरमा रहेको मानवको स्थायी बसोबास भएको ठाउँ पनि भनिन्छ। यो उत्तरी ध्रुवबाट करिब १ हजार २३१ किलोमिटर पर छ।

सहरको एकातिर पर्वत छन् भने अर्कोतिर फियोर्ड वा जमिनको भित्री भू–भागसम्म पसेको सागर छ। मानव गतिविधि नहुने आर्कटिक महासागर क्षेत्रको यो वातावरण प्रदूषणका स्रोतभन्दा निकै पर छ।

यहाँ बसोबास गर्ने मानिस भनेका अधिकांश यही कारणले अनुसन्धान गर्न पुग्ने वैज्ञानिकहरू हुन्। सन् १९८९ मा त्यहाँ जेपेलिन्फेलेट पर्वत क्षेत्रको ४७२ मिटर उचाइ भएको ठाउँमा प्रदूषण नाप्ने स्टेसन बनाइएको थियो।

अचेल जेपेलिन अब्जर्भेटरी भनिने उक्त स्टेसन जलवायु परिवर्तनका कारक हरितगृह ग्यासका स्तर नाप्ने महत्वपूर्ण अनुसन्धान निकाय भएको छ।

 

Comments

Back to top