बल हानेर विमान खसालिदिने फुटबलर

रोबर्टो ग्याब्रियल ट्रिगो पाराग्वेका अवकाशप्राप्त फुटबल खेलाडी हुन् । उनी सायद एक्लो व्यक्ति हुन् जसले बल हानेर सानो विमान खसालिदिएका छन् ।

कतिले यो घटना प्रतिस्पर्धाकै बेलामा भएको बताउँछन् भने कतिले यो घटना अभ्यास खेलको क्रममा भएको हो भनेर दाबी गर्छन् तर यी सबैले यसका लागि एउटै व्यक्तिलाई श्रेय दिन्छन्न – रोबर्टो ग्याब्रियल ट्रिगो ।

उनी त्यतिबेला १७ वर्षका थिए र असङसियनस्थित जनरल जिन्स फुटबल क्लबको पछाडि पट्टी फुटबल खेलिरहेका थिए । स्थानीय फुटबल ग्राउन्डको माथिबाट उडिरहेको सानो विमानसँग उनलाई रिस उठ्यो त्यसैले उनले बल माथितर्फ हाने । बल सिधै गएर विमानको इन्जिनमा पर्यो र उनीभन्दा २०० मिटर पर खस्यो ।

‘मेरा मित्र लर्डले सधैँ खेल र अभ्यासका बेला विमान उडाउने गर्दथे । मैले त्यतिबेला उनलाई भन्ने गर्थेँ ‘यस्तो नगर है, नभए म तिमीलाई बलले हानिदिन्छु,’ मैले यस्तो कुरा गरेको सुनेर बेस्सरी हाँसे, किनभने उनी मेरा साथी थिए,’ ट्रिगोले केही वर्ष अघि इएफइसँगको कुराकानीमा भनेका थिए ।

उनी सम्झन्छन् त्यो सन् १९५७ फेब्रुअरीको महिना थियो, प्रेसिडेन्टे हायेस फुटबल क्लबसँगको प्रतिस्पर्धाको समय।

लर्डले सधैँ झैँ निकै तल विमान उडाइरहेका थिए, विपक्षी समूहबाट कर्नर किक आएपछि रोबर्टो ग्याब्रियल ट्रिगोले बल आफ्नो खुट्टामा लिए र उक्त विमानतर्फ हिर्काए । उनले त्यतिबेला सोचेकै थिएनन् कि बल विमानमा ठोक्किनेछ तर दुर्भाग्यवश त्यस्तै भइदियो र विमान तल खस्यो ।

‘केही समयको लागि खेल रोकियो । म आत्तिएँ । उनीहरुले मलाई समाते र चिसो पानी पिउन दिए, टाउकोमा पानी खन्याइदिए । उनीहरुले भनिरहेका थिए, ‘नआत्तिउ, केही भएको छैन, पाइलट ठिक छन्’ । यो कुराले मलाई केही राहत दियो,’ ट्रिगोले सम्झिए ।

उनलाई पछि थाहा भयो कि त्यतिबेला लर्ड आफ्नो सानो छोरासँगै थिए । तर नजिकै खुल्ला स्थानमा खसेपछि यी दुबैलाई केही पनि भएन । कुरा सबै मिलेपछि खेल पुनः सुरु भयो र ट्रिगोको समूहले खेल २–० ले जिते ।

‘लर्ड मसँग रिसाएनन् । हामी साथी थियौँ र हामीले यसै विषयमा धेरै ठट्टा गर्ने गर्दथ्यौँ । समस्या के थियो भने हामीले त्यस्तो होला भनेर खासमा सोचेकै थिएनौँ,’ उनले भने ।

ट्रिगोको यो घटना पाराग्वेको समाचारको हेडलाइन बन्यो । बल हानेर विमान खसालेको घटना अमर कथा बन्यो । जनरल जिन क्लब अहिले अस्तित्वमा छैन तर पनि धेरैलाई रोबर्टो ग्याब्रियल ट्रिगोबारे थाहा छ ।

Comments

Back to top