भारतलाई ६ विकेटले हराउँदै अष्ट्रेलिया बन्यो क्रिकेटको विश्व बिजेता
भारतलाई हराउँदै अष्ट्रेलियाले एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । भारतलाई उसैको घरेलु मैदानमा ६ विकेटले हराउँदै अष्ट्रेलियाले छैठौं पटक विश्वकपको ट्रफी उचालेको हो ।
लगातार १० खेल जितेर फाइनलमा पुगेको भारत उपाधि भिडन्तमा भने चुकेको छ । भारतले १२ वर्षयता एकदिवसीय विश्वकपको उपाधि जित्न सकेको छैन ।
अहमदावादको नरेन्द्र मोदी स्टेडियममा २४१ रनको सामान्य लक्ष्य कंगारु टोलीले ४२ बल बाँकी छँदै ४ विकेट गुमाएर पुरा गरेको थियो ।
अष्ट्रेलियालाई छैठौं पटक एकदिवसीय विश्वकपको उपाधि जिताउन ट्रैविस हेडले उत्कृष्ट ब्याटिङ गरे । उनले १२० बलमा १३७ रन बनाएपछि भारतीय आकांक्षामा तुषारापात भएको थियो । हेडले १५ चौका र ४ छक्का प्रहार गरेका थिए ।
८१ रनमा ३ विकेट गुमाएर दबाबमा आएको टिमलाई हेडले मार्नस लाबुशेनसँग मिलेर जितसम्म पुर्याएका थिए । लाबुशेनले अविजित ५८ रन बनाए ।
Comments