उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न
पूर्व क्षितिजबाट उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएपछि चारदिने छठ पर्व सकिएको छ ।
शुक्रबार साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिएका व्रतालुले आज बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएका हुन् ।
यससँगै सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने महान् चाड छठको उल्लास सकिएको छ ।
काठमाडौंका छठघाट पनि विशेष किसिमले सजाइएको छ । विशेष नियम र निष्ठासाथ मनाइने छठ पर्वका लागि नदी, पोखरी तथा जलाशय सिँगारेर झकिझकाउ थियो ।
कात्तिक शुक्ल षष्ठी र सप्तमीका दिन सूर्यलाई विशेष विधिपूर्वक अर्घ्य दिएर छठ पर्व मनाइन्छ । ‘सँझिया घाटे’ भनिने षष्ठीको दिनलाई छठको मुख्य दिन मानिन्छ ।
छठ पर्व विशेष गरी नेपालको मध्य र पूर्वी तराईमा मनाइने गरिएको भए पनि पछिल्लो समयमा काठमाडौं, हेटौँडा, चितवनलगायतका पहाडी र भित्री मधेशका जिल्लामा समेत उल्लासका साथ मनाउने गरिन्छ ।
Comments