छठ पर्वको दोस्रो दिन, ‘खरना’ विधि पूरा गरिँदै

छठ पर्वको दोस्रो दिन, आज खरना गरी मनाइँदै छ । यस दिन व्रतालुहरूले नुहाएर चोखो भई साँझपख खीर बनाएर चन्द्रमालाई चढाउने गर्दछन् ।

कात्तिक शुक्ल तृतीयाका दिन ‘अरबा-अरबाइन’ र शुक्ल चतुर्थीका दिन ‘नहाय–खाय’ विधि पूरा गरेका व्रतालुले कार्तिक शुक्ल पञ्चमीका दिन दिउँसो निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खीर कूलदेवता र छठीदेवीलाई चढाएर प्रसाद स्वरुप खानेछन् ।

षष्ठी तिथिका दिन आइतबार निराहार व्रत बसेर साँझपख सजिसजाउ गरिएका घाट बनाइएको जलाशयमा पुगेर शरीरको कम्मरसम्मको भागलाई पानीमा डुबाएर ‘अस्ताउँदो सूर्य’लाई अर्घ दिने गरिन्छ।

यसलाई ‘सँझियाघाट’ भनिन्छ । यसको भोलिपल्ट सप्‍तमीका दिन सोमबार बिहानै उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न हुनेछ । छठको व्रत बस्दा चोखोनिधो, संयम र ब्रह्मचर्य धर्मको पालना गरिएन भने छठ पूजाको फल नपाइने जनविश्वास छ। छठ पर्वको व्रतलाई कठिन व्रतको रूपमा पनि लिइन्छ ।

छठमा विशेष गरी प्रकृतिको छैटौँ अंशबाट उत्पन्न भएकी भगवती देवी (छठी माई)को पूजा गरिन्छ ।

Comments

Back to top