छठ पर्वको व्रत विधि सुरु, आज ‘नहाय–खाय’

छठ पर्व विधिवत् रूपमा सुरु भएको छ । व्रतालुले आज शुक्रवार ‘नहाय–खाय’ विधिमार्फत व्रतको शुरुवात गर्दैछन् । त्यसो त कात्तिक शुक्ल तृतीयाकै दिन हिजो बिहीवार व्रतालुले उसिना चामल, कोदो, मुसुरो, माछामासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ भनिने विधि गरेका थिए ।

आज व्रतालुले पवित्र स्नान गरी व्रत सङ्कल्प गरेर चोखोनितो खान्छन् । यो विधिलाई मिथिलामा ‘नहाय–खाय’ भन्ने गरिएको छ । हिजो ‘अरबा–अरबाइन’ र आज ‘नहाय–खाय’ विधि गर्ने व्रतालुले भोलि शनिवार निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरबा चामलको खिर कुलदेवता र छठीदेवीलाई चढाएर प्रसादस्वरूप खान्छन् । यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ ।

व्रतालुले षष्ठी तिथिका दिन निराहार व्रत बसेर बेलुकी पख अस्ताउँदो सूर्यलाई अर्घ्य दिन्छन् । यसको भोलिपल्ट बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व सम्पन्न हुने परम्परा छ ।

 

Comments

Back to top