काठमाडौंमा छठपुजाको तयारी अन्तिम चरणमा

काठमाडौंको विभिन्न स्थानमा रहेको नदी तथा पोखरीहरूमा छठी माईको पूजाका लागि तयारीको काम अन्तिम चरणमा पुगेको छ । छठ पर्वको मुख्य दिन भोलि (शुक्रवार) छठी माईको पूजाका लागि काठमाडौंको कमल पोखरी, कुपण्डोल, गौरीघाट, नागपोखरी, गहनापोखरीलगायतका स्थानहरूमा यसको तयारीको काम अन्तिम चरणमा पुगेको हो ।

काठमाडौंको विभिन्न १३ स्थानमा छठ पर्वको तयारी भइरहेको छ । कमल पोखरी छठ कमिटीका अध्यक्ष राजेन्द्र सिंहले अहिले टेण्ट हाल्ने काम सुरु भएको र शनिवारसम्म सबै काम सकिने बताएका छन् । उनले हरेक वर्ष निःशुल्क घाट व्यवस्थापन गर्ने गरेको र यस पटक पनि निःशुल्क नै व्यवस्थापन हुने बताए ।

‘टेण्ट हाल्न सुरु भएको छ, शनिवारसम्म काम सकिन्छ । हरेक वर्ष निःशुल्क घाट व्यवस्थापन गरेका छौँ । यस पटक चन्दा बाक्सा पनि राख्दैनौँ,’ उनले भने ‘छठी माईको मूर्ति पोखरीमा नराख्ने भएका छौँ । सेलाउने मूर्ति बाहिर नै राख्नेछौँ । आरती र भजन कीर्तन गर्नेछौँ ।’

त्यस्तै गौरीघाट छठ समिति संयोजक किरणकुमार दासले छठको घाट ५०८ देखि ५१० वटा बनाउने तयारी भएको बताए । उनले अहिलेसम्म घाटको काम ८० प्रतिशत सकिसकेको र बाँकी काम शनिवारसम्म सकिने बताएका छन् ।

Comments

Back to top