इजरायलद्वारा गाजाको सबैभन्दा ठूलो अस्पताल अल शिफामा आक्रमण

इजरायलले गाजाको अल शिफा अस्पतालमा आक्रमण गरेको छ । अस्पतालभित्र हमास लडाकू लुकेर बसेको भन्दै इजरायलले ठूलो आक्रमण गरेको बीबीसीले जनाएको छ । आक्रमणका कारण सयौँ बिरामी र घाइते तथा अस्पतालमा आश्रय लिएर बसेका हजारौँ नागरिकको जीवन जोखिममा परेको छ ।

इजरायलीले सेनाले अस्पतालको शल्यक्रिया भवनमै बम हानेको प्रत्यक्षदर्शीले बताएका छन् । हमास लडाकुले अस्पतालमा सहारा लिएर इजरायलविरुद्ध गतिविधि गरेकाले उनीहरुलाई मार्नको लागि आक्रमण गरिएको इजारयलको सेनाको जिकिर छ ।

अल–शिफा गाजाको सबैभन्दा ठूलो अस्पताल हो । इजरायली सेनाले अस्पतालमा रहेका सबै लडाकुलाई आत्मसमर्पण गर्न माइकिङ गरिरहेको छ । सहायता स्वयंसेवकहरुले अल–शिफा भित्रको अवस्था डरलाग्दो भएको बताएका छन् । अस्पतालमा इन्धन सकिएको छ, आपत्कालीन सेवा पनि रोकिएको छ, सयौँ घाइते छटपटाइरहेका छन् । भर्खरै जन्मिएका शिशुहरुलाई अक्सिजन दिन नसक्दा कयौँको ज्यान गएको छ ।

अस्पतालबाट शव लैजाने सुविधा नहुँदा २ सय जनालाई नजिकै खाल्डो खनेर गाडिएको छ । आज इजरायली सेनाले अस्पतालमै आक्रमण गरेपछि अवस्था अकल्पनीय हुने सहायता स्वयंसेवकले जनाएका छन् । हमासले यो अवस्थाको जिम्मेवारी अमेरिकी राष्ट्रपति जो बाइडेन र उनले परिचालन गरेको इजरायली सेनाले लिनुपर्ने बताएको छ ।

Comments

Back to top