चार वर्षपछि व्यवसायिक रुपमा खुल्यो कोरला नाका
सोमबारदेखि मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थिति कोरला नाका खुलेको छ । चार वर्षपछि उक्त नाका खुलेको छ ।
कोरोना महामारीको बेला २०७६ देखि कोरला नाका पूर्ण रुपमा बन्द भएको थियो । त्यसअघि भने वर्षमा दुई पटक मात्रै अन्तरदेशीय व्यापार मेला हुने गरेको थियो । तर, सोमबारदेखि भने अब यो नाका पूर्ण रुपमा संचालन हुने बताइएको छ ।
मुस्ताङको सबै स्थानीय तहका बासिन्दाले कोरला नाका भएर चीनको (नेचुङ–लिजी) बजार आवत जावत गर्न पाउने भएका छन् । यसअघि चीनको सिमानामा रहेको मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाका लागि मात्रै कोरला नाका भएर चीन जान पाउने अनुमति थियो ।
नाका संचालनमा आएसँगै स्थानीयवासी पनि उत्साहित छन् । नेपाली उत्पादनमा पनि बिक्री गर्न पाउने भएकाले स्थानीयवासीमा खुशीयाली छाएको हो । नेपालका व्यवसायीहरुले पनि चीनबाट सामानहरु सहजै खरिद गर्न सक्नेछन् । मुस्ताङका बासिन्दाले दैनिक उपभोग्य, निर्माण सामग्री, लत्ताकपडालगायत सामग्री सस्तोमा आयात गर्न पाउँछन् । यसअघि चीनबाट आयात हुने सामान, लत्ताकपडा लगायतका माल वस्तु काठमाडौं, पोखराहुँदै मुस्ताङ पुग्ने गरेको थियो । तर, अब भने सिधै आइपुग्ने छ ।
Comments