एक वर्षपछि सी र बाइडेनबीच बुधबार संयुक्त राज्य अमेरिकामा भेट हुँदै

अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका चिनियाँ समकक्षी सी चिनफिङबीच भोलि बुधबार संयुक्त राज्य अमेरिकामा भेटवार्ता हुने ह्वाइट हाउसले पुष्टि गरेको छ ।

विश्वका दुई ठूला अर्थतन्त्रका नेताहरूबीच एक वर्षपछि पहिलो पटक क्यालिफोर्नियामा हुने बैठकमा व्यापार, ताइवान र उनीहरूबीचको तनावपूर्ण सम्बन्ध व्यवस्थापनका विषयमा वार्ता हुनेछ।

क्यालिफोर्नियामा हुने एपेक शिखर सम्मेलनका अवसरमा बाइडेन र सीबीच करिब एक वर्षमा पहिलो पटक भेट हुने भएको हो ।

ह्वाइट हाउसका प्रेस सचिव क्यारिन जिन-पियरेका अनुसार दुवै नेताबीच थुप्रै द्विपक्षीय, क्षेत्रीय र वैश्विक मुद्दाको दायराका साथै प्रतिस्पर्धालाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्ने तरिकाबारे कुराकानी हुनेछ । 

सी-बाइडेन शिखर सम्मेलन बेइजिङ, वासिङ्टन र अन्य स्थानमा शीर्ष अधिकारीहरूबीच हालैका महिनाहरू भएका बैठकहरूको शृङ्खलापछि हुन लागेको हो । यसअघि सी र बाइडेनबीच सन् २०२२ नोभेम्बरमा बालीमा भेट भएको थियो । 

बुधबार हुने बैठकको उद्देश्य दुवै मुलुकबीचको चिसिएको सम्बन्धलाई ‘स्थिर’ बनाउने रहेको भन्दै एक वरिष्ठ अमेरिकी अधिकारीले ठूलो परिणामको आशा नगर्न चेतावनी दिए । 

Comments

Back to top