आज धनतेरस मनाइँदै

दीपावली (तिहार) पर्व आजदेखि सुरु हुँदैछ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने दीपावलीको पहिलो दिन आज ‘धनतेरस’ मनाइँदै छ । यस दिन विशेष रूपमा भगवान् धन्वन्तरीको पूजा आराधना गरिन्छ साथै धनका देवता कुवेर तथा लक्ष्मीको पनि पूजा आराधना गरिन्छ । समुद्र मन्थनको क्रममा यसै दिन भगवान् धन्वन्तरी हातमा अमृतको कलश लिएर प्रकट भएका थिए भन्ने जनविश्वास रहेको छ । 

भगवान् धन्वन्तरीलाई देवताका वैद्य मानिन्छ । उनी आरोग्य, स्वास्थ्य, आयु एवं तेजका देवतासमेत हुन् । भगवान् धन्वन्तरी भगवान् विष्णुका २४औँ अवतारमध्येका एक हुन् । हरेक वर्ष कात्तिक महिनाको कृष्णपक्षको त्रयोदशीका दिन धनतेरस मनाइन्छ । तिहारको पहिलो दिन आज धातुका नयाँ सामान जोडेर घरघरमा धनतेरस मनाईँदैछ । 

धनतेरसको दिनलाई घरघरमा समृद्धि भित्रिने दिनको रूपमा लिइन्छ । यस दिनमा गरिने किनमेललाई शुभ मानिन्छ । यस दिन लक्ष्मीको विशेष कृपा हुने विश्वासका साथ विशेष सामग्रीहरू किनिने चलन रहेको छ । यस दिन विशेषगरी सुन, चाँदी तथा पित्तलका भाँडाकुँडाको खरिद गर्ने गरिन्छ ।

Comments

Back to top